अर्थ-वाणिज्य

पूर्वराष्ट्रपति भण्डारी नौ वर्षपछि एमालेको औपचारिक कार्यक्रममा सहभागी



काठमाडौं १६ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नौ वर्षपछि नेकपा एमालेको औपचारिक कार्यक्रममा सहभागी भएकी छन् ।नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा बुधबार सुरु एमालेको महिला भेलामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बनेकी छन् । भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली विशेष वक्ताका रुपमा सहभागी भए । अध्यक्ष निर्वाचित भएपछि एमालेकै कार्यक्रममा ओली विशेष अतिथि बन्नु परेको संभवतः यो पहिलो कार्यक्रम हो ।
भेलाको आयोजना एमाले जनसंगठन समन्वय संयन्त्रले गरेको हो । भानुभक्त ढकाल इन्चार्ज रहेको यो संयन्त्रले एमालेका २३ वटै जनसंगठनहरुको समन्वय र नेतृत्व गर्छ । भेलामा पनि २३ वटै जनसंगठनका महिला नेताहरुलाई बोलाइएको छ ।जनसंगठनका महिला नेताहरु बाहेक पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश र जिल्ला कमिटीका महिला पदाधिकारी, स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियुबाट निर्वाचित महिला प्रतिनिधि लगायत ५ हजार सहभागी रहेको केन्द्रीय सदस्य रचना खड्काले बताइन् ।एमाले नेताहरुले नेपालको महिला आन्दोलनमा पूर्वराष्ट्रपति भण्डारीको भूमिकाका कारण प्रमुख अतिथि बनाइएको बताएका छन् ।
पुनर्स्थापित प्रतिनिधिसभामा २०६३ साल जेठ १६ गते एमालेका तत्कालीन उपाध्यक्षका हैसियतमा भण्डारीकै नेतृत्वमा महिलाको अधिकार सम्बन्धी संकल्प प्रस्ताव पारित भएको थियो । उक्त संकल्प प्रस्तावमा आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एक तिहाइ महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुन खारेजी, महिला हिंसाको अन्त्य लगायत विषय समेटिएको थियो ।त्यो दिनको उपलब्धिको सम्झना समेत गर्न पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाएर पार्टी कार्यक्रम आयोजना गरिएको प्रष्टोक्ति नेताहरुले दिएका छन् । तर पार्टीको औपचारिक कार्यक्रममा प्रमुख वक्ता बनेर पूर्वराष्ट्रपति भण्डारी सहभागी हुनुलाई चासोका साथ हेरिएको छ ।
किनकि दुईपटक राष्ट्रपति बनेकी भण्डारीले सक्रिय राजनीतिमा फर्कने संभावनाबारे एमालेभित्र चर्चा हुदै आएको छ । तर गत वर्ष २९ फागुनमा राष्ट्रपतिको कार्यकाल सकिएपछि सरकारी निवासमा नबस्ने निर्णय गरेर पूर्वराष्ट्रपति भण्डारी आफैंले पनि सक्रिय राजनीतिमा फर्कने अनुमानलाई बल दिएकी थिइन् । तर पार्टीको औपचारिक गतिविधिमा सहभागी भएकी थिइनन् ।मदन भण्डारी फाउण्डेसनमार्फत भने उनी राजनीतिक गतिविधिमा सक्रिय थिइन् । गत वर्ष १४ असारबाटै फाउण्डेसनको ब्यानरमा हुने गतिविधिमा सहभागी हुन थालेकी थिइन् । मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा त्यसदिन आयोजित कार्यक्रममा पनि ओलीलाई विशेष अतिथि बनाएर पूर्वराष्ट्रपति भण्डारी प्रमुख वक्ता बनेकी थिइन् ।
त्यो कार्यक्रम फाउण्डेसनको भएकाले स्वभाविक मानिएको थियो । तर झण्डै नौ वर्षपछि आज पूर्वराष्ट्रपति भण्डारी एमालेको औपचारिक कार्यक्रमको प्रमुख वक्ता बनेकी छन् ।३ असोज २०७२ मा संविधान जारी भएपछि ११ कात्तिक २०७२ मा भण्डारी राष्ट्रपति निर्वाचित भएकी थिइन् । त्यसअघि उनी एमालेको उपाध्यक्ष थिइन् । दोहोरिएर एमाले उपाध्यक्ष जितेकी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि पार्टीबाट अलग भएकी थिइन् ।२०७४ सालको चुनावपछि पनि राष्ट्रपति निर्वाचित भण्डारी सात वर्षपछि शितलनिवासबाट बाहिरिएकी थिइन् । शितलनिवासबाट बाहिरिएपछि उनी पार्टीको सक्रिय राजनीतिमा फर्कनेबारे आँकलन गरिदै आएको छ ।

प्रकाशित : १६ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६