खोज–अनुसन्धान

उपचारको आशामै बित्यो धनबहादुरको एक दशक



नौगाड (दार्चुला), १० असोज

तिङ्कर खेडाको साँघुरो सडक । कतै धुलो, कतै हिलो त कतै घामले तातिएको कालोपत्र । सोही सडक हुँदै आवतजावत गर्नेले एक दशकयता घिस्रिरहेका एक व्यक्ति देख्ने गर्छन् । यसरी घस्रिएर जीवन धानिरहनुभएका महाकाली नगरपालिका–४ का ५९ वर्षीय धनबहादुर क्षेत्री हुनुहुन्छ ।

हेर्दा उहाँको अवस्था जति नाजुक देखिन्छ त्यो भन्दा कैयौँ गुना पीडा बोकेर उहाँ एक दशकदेखि शरीर घिसार्दै जीवन धानिरहनुभएको छ । अचानक खुट्टा र कम्मरले काम गर्न छाडेपछि उहाँका शरीर पाङ्ग्रा फुत्किएको गाडीझैँ भयो । समयमै उपचार गर्न उहाँसँग पैसा थिएन । छोराछोरी सानै थिए । विगत सम्झिँदै उहाँले भन्नुभयो, “एकाएक कम्मरले काम गर्न छोड्यो । अहिले घर बाहिर भित्र गर्नै गाह्रो छ । अपाङ्गता भएका कारण समाजले हेर्ने दृष्टिकोण पनि राम्रो छैन् ।”

विसं २०७१ देखि उहाँमा अपाङ्गताको समस्या सुरु भएको हो । कम्मरदेखि सुरु भएको समस्या बल्झिँदै गएपछि उहाँको खुट्टाले काम गर्न छाडे । “त्यतिखेर पैसा भएको भए म उपचारका लागि अस्पताल जान्थेँ होला । उपचार गरेको भए  मेरो शरीर चल्थ्यो होला,” गहभरी आँसु पार्दै उहाँले भन्नुभयो । 

अब त उमेरले डाँडो काट्न लाग्यो । यसवर्षको बर्खायामदेखि त बाहिर निस्कन पनि नसक्ने हुनुभएको छ । समस्या झनै जटिल बन्दै गएपछि उहाँलाई बाहिर निकाल्नै समस्या हुन थालेको उहाँकी श्रीमती मीना क्षेत्रीले बताउनुभयो । “कहीँ गएर हामीलाई सहयोग दिनुहोस् भन्न पनि सकेनौँ । श्रीमान्को यो अवस्था देखेर सहयोग गर्ने कोही भएनन्”, उहाँले भन्नुभयो,  “खुट्टाले नटेके पनि हात राम्रा थिए । तर तीन चार वर्षयता हातले पनि काम गर्न छाडे ।”

परिवार चलाउने बल्ल तल्ल एक छोरीले सहयोग गर्न थालेको उहाँको भनाइ छ । छोरीले अहिले ब्यूटिपार्लर सिकेर सहयोग गर्न सक्ने हुनुभएको छ । धनबहादूर पूर्ण रुपमा श्रीमती मीनाको सहारामा मात्र बाहिर भित्र गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।  

उहाँले अपाङ्गता भत्ताबापत मासिक रु तीन हजार प्राप्त गर्नुहुन्छ । महाकाली नगरपालिकाले ह्वीलचियर प्रदान गरेको छ । थप सहयोगका लागि नजिकै सरकारी कार्यालय छैनन्  । 

राम्रो अस्पतालमा एकपटक पु¥याउन सके उमेरले डाँडो काटे पनि अझै अहिलेभन्दा अथवा हुने थियो कि भन्ने क्षेत्री दम्पत्तिको आशा छ । तर सहयोगी मन र राज्यको ध्यानबिना त्यो आशा पूरा होला कि नहोला भन्ने पीरले दिनरात उनीहरुलाई पिरोलिरहन्छ । 

प्रकाशित : ११ आश्विन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६