गण्डकी, ११ असोजः
संविधानको प्रभावकारी कार्यान्वयनमार्फत लोकतन्त्रको सुदृढीकरणमा राजनीतिक दल, नागरिक समाजलगायत सम्बद्ध पक्ष दृढ भएर लाग्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय जनमोर्चा, बागलुङद्वारा शनिबार सदरमुकाममा आयोजित ‘राष्ट्रियता र संविधानको रक्षा’ विषयक अन्तक्र्रियामा वक्ताहरूले जनताको लामो त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त भएको अहिलेको संविधानको रक्षार्थ सबै एकजुट हुनुपर्ने बताएका हुन् ।
‘जेनजी’ विद्रोहपछिको विषम परिस्थितिमा मुलुकको हित र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्नेमा सबैको समान मत थियो । राष्ट्रियता प्रवर्द्धन र संविधानको रक्षाका लागि मुलुकका राजनीतिक दल थप जिम्मेवार हुनुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा ‘राष्ट्रियता र संविधान रक्षाको प्रश्न’ विषयक आधारपत्र प्रस्तुत गर्दै वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले ‘जेनजी’ विद्रोह मुलुकमा व्याप्त कुशासन र अराजकताको परिणाम भएको बताउनुभयो । राज्यसत्ताका प्रमुख अङ्गहरू, प्रशासन, न्यायालयसम्म दलीयकरण र भागवण्डा हुँदा नीतिग निर्णयहरूका आडमा भ्रष्टचार मौलाएको उहाँको भनाइ छ ।
“राजनीतिक दलहरूले अब कुराले होइन, कामले सुधारिएर जनताको विश्वास जित्नु आजको आवश्यकता हो”, वरिष्ठ अधिवक्ता श्रेष्ठले भन्नुभयो, “वैदेशिक हस्तक्षेप र अर्धसामन्ती अवस्थाबाट मुक्त नभएसम्म नेपाल राष्ट्रले आशा गरेको उन्नति हुन सक्दैन ।”
कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट जगन्नाथ आचार्य, नेकपा (एकीकृत समाजवादी)का पिङ्गलराज गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द पौडेल, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार एवं जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनलगायत विभिन्न राजनीतिक दलका नेताले मुलुकको वर्तमान परिस्थितिमा दलहरूले निभाउनुपर्ने भूमिकाका बारेमा विचार राख्नुभएको थियो ।
‘जेनजी’ आन्दोलनका क्रममा प्रकट भएको युवा पुस्ताको माग र चाहनालाई पनि संवैधानिक र लोकतान्त्रिक विधिबाट सम्बोधन गर्नुपर्नेमा उहाँहरूको जोड थियो । कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका प्रा डा दिनबहादुर थापा, डा डिल्लीराज गौतम, भक्तिराम न्यौपाने, बागलुङ बारका अध्यक्ष गीता श्रीसलगायतले भनाइ राख्नुभएको थियो ।








प्रतिक्रिया