खोज–अनुसन्धान

‘सम्भावित वर्षासहित विपद्जन्य घटनाबाट जोगिन आग्रह’



गण्डकी, १७ असोज

जिल्ला प्रशासन कार्यालय, कास्कीले आज शुक्रबारदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाले विशेष सतर्कता अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । कास्की प्रशासन कार्यालयले सम्भावित वर्षाका कारण बाढीपहिरा, डुबान, हिमपात आदि विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन सार्वजनिक सूचना जारी गरी सम्बद्ध सबैसँग अनुरोध गरेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू–भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै सो कार्यालयले यस किसिमको सूचना जारी गरेको हो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले नागरिकको जिउधनको सुरक्षालाई दृष्टिगत गरी आगामी सोमबारसम्म अति जरुरी काम नपरी टाढाको दुरीमा र रातिको समयमा यात्रा नगर्न तथा नदी एवं खोला आसपासका क्षेत्रमा रहँदा विशेष सावधानी अपनाउन सम्बद्ध सबैसँग अनुरोध गरिएको जानकारी दिनुभयो ।

यसैगरी आगामी सोमबारसम्म राजमार्ग तथा ग्रामीण सडकमा संयमतापूर्वक सवारीसाधन सञ्चालन गर्न र क्षमताभन्दा बढी यात्रु नचढाउन यातायात व्यवसायी एवं सवारी चालककोसमेत कास्की प्रशासनले ध्यानाकर्षण गरेको छ ।

यसै सन्दर्भमा बिरेठाँटीदेखि घान्द्रुक तथा उल्लेरी, लुम्लेदेखि लान्द्रुक र काहुँखोलादेखि ताङतिङ–सिक्लेस जाने सवारीसाधन शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि दिउँसो चार बजेभित्र छुटिसक्ने व्यवस्था मिलाइएको छ । सोही मार्गबाट फर्कने सवारीसाधनलाई शनिबार बिहान ५ बजेपछि मात्र छुट्ने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।

त्यस्तै उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकाले अन्नपूर्ण हिमाल, मर्दी हिमाललगायतका क्षेत्रको पदयात्रामा नजान पदयात्री तथा पर्यटकलाई आग्रह गरेको छ । कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ, सुरक्षा निकाय र स्थानीय प्रशासनमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

स्थानीय तह, रेडक्रससहित साझेदार संस्था, निजी क्षेत्र, नागरिक समाजलगायत सरोकार भएका सबै पक्षलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सचेत गरिएको छ ।

 कास्की प्रशासन कार्यालयले गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य राजमार्ग र अन्य जोखिमयुक्त सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकाय तथा कार्यालयलाई अनुरोध गरेको छ ।

प्रकाशित : १७ आश्विन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६