अर्थ-वाणिज्य

सरायको रौनकसँगै दसैँ मेलामा काठेपिङ चढ्नेको घुइँचो



तम्घास (गुल्मी), २१ असोज

यहाँको कोतघरमा सरायको रौनकसँगै काठेपिङमा रमाउने सर्वसाधारणको घुइँचो लागेको छ । दसैँपछि कोतघरमा लाग्ने मेलामा विगतमा झैँ काठेपिङ राखिएका छन् । कात्तिक शुक्लपक्षमा भुइँ छोड्नुपर्छ भन्ने मान्यता गाउँघरमा छ । त्यही मान्यताले पनि यहाँ काठेपिङ खेल्नेको भीड लागेको हो ।

विशेषगरी घुम्ने लकडी राखिएको हुनाले कतिपयले यसलाई लकडी पिङ पनि भन्ने गर्छन् । तर गाउँघरमा प्रायः चर्खेपिङ वा काठेपिङले परिचित छ । मालिका गाउँपालिका–५ छापकी मनिषा महतराले भन्नुभयो, “दसैँमा एकपटक भुइँ छाड्नुपर्छ भन्छन्, त्यसैले म पनि पिङ खेल्नकै लागि यहाँ आएको हुँ । यो हाम्रो परम्परा हो ।” काठेपिङमा एकपटकमा १२ जनासम्म चढ्न मिल्छ । 

दसैँमा काठेपिङ केबल मनोरञ्जन मात्र नभई आम्दानीको स्रोत पनि बनेको छ । पिङ सञ्चालकले आम्दानी लिँदै आएका छन् । मालिका गाउँपालिका–७ घमिरका हिराबहादुर कार्कीले यो वर्ष बुल्म, अर्खबाङ्ग, अर्जैलगायत स्थानमा पिङ सञ्चालन गर्नुभयो । उहाँले प्रतिव्यक्ति ५० रुपैयाँका दरले शुल्क लिनुभयो । सोमबार मात्रै अर्जैमा ५०० बढीले पिङ चढे । सबै खर्च कटाउँदा एक सिजनमा दुई वटा पिङबाट तीन लाखसम्म आम्दानी गरेको उहाँले बताउनुभयो । वडाध्यक्षसमेत रहनुभएका कार्कीले व्यावसायिक रुपमै पिङ सञ्चालन गर्दै आउनुभएको छ । अर्जैको सरायमा मात्रै नौ वटा पिङ राखिएका छन् । 

यसक्षेत्रमा दसैँको एकादशीदेखि कोजाग्रत पूर्णिमा अर्थात् पाँच दिनसम्म विभिन्न स्थानमा मेलाकै रुपमा सराय नाच नाचिन्छ । सोही मेलालाई लक्षित गर्दै काठेपिङ सञ्चालन गरिएका हुन् । मालिका गाउँपालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले काठेपिङले गाउँको संस्कृति संरक्षणका साथै गाउँमा आन्तरिक पर्यटकसमेत प्रवर्द्धन भएको बताउनुभयो ।

प्रकाशित : २१ आश्विन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६