काठमाडौँ, १ कात्तिक
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत हुने बताउनुभएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलमा अवस्थित गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयको ७३औँ वार्षिकोत्सवमा मन्त्री खरेलले सुशासन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
सञ्चारमन्त्री खरेलले भन्नुभयो, “जेनजी आन्दोलनको जगमा बनेको नागरिक सरकारको ‘क्लियर म्यान्डेड’ निर्धारित समयभित्रै निर्वाचन गर्ने, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण रहेको छ ।”
विशेष परिस्थितिमा आफू मन्त्रीको जिम्मेवारीमा आएको बताउँदै मन्त्री खरेलले सकेसम्म जनताले परिणाम अनुभूत गर्नेगरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “म मन्त्रीको रूपमा कति काम गर्न सकुँला या नसकुँला तर बदनाम हुने काम चाहिँ गर्ने छैन । सकेसम्म राम्रो गर्नेछु तर बिगार्ने र बिग्रिने छैन ।”
मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा क्षति भएका सिंहदरबार, राष्ट्रपति भवन, संसद् भवन, सर्वोच्च अदालतलगायतको पुनःनिर्माण अगाडि बढाउनुपर्ने अपरिहार्यता औँल्याउनुभयो । उहाँले आन्दोलनका क्रममा मृत्यु भएका परिवार शोकमा रहेको तथा घाइतेहरु अझै अस्पतालमा रहेकाले पीडितको न्याय हुनेगरी जनधनको क्षतिको अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानअध्यापक नीराकुमारी श्रेष्ठले विद्यालयले शैक्षिक सामग्रीको अलावा विद्यार्थीहरुलाई व्यावहारिक शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । विद्यालयमा हाल एक हजार ४०० विद्यार्थी अध्ययनरत छन् । सो अवसरमा विद्यालयको शैक्षिक विकास र उन्नयनमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।








प्रतिक्रिया