अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनका सहभागीद्वारा प्राचीन तिलौराकोट दरबार क्षेत्रको अवलोकन



कपिलवस्तु, ७ कात्तिक ।
सिद्धार्थनगरमा सम्पन्न अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन–२०२५ मा सहभागी भएका विभिन्न देशका वैज्ञानिक, अनुसन्धानकर्ता र शिक्षाविद्‌हरूको टोलीले शनिबार ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल तिलौराकोट दरबार क्षेत्रको अवलोकन गरेका छन्।

तिलौराकोट, भगवान् गौतम बुद्धको बाल्यकाल बितेको पवित्र स्थलका रूपमा चिनिन्छ। यिनै ऐतिहासिक धरातल र पुरातात्त्विक सम्पदाको अवलोकन गर्न आएका वैज्ञानिकहरूले तिलौराकोटका खुदाइ स्थल, दरबार क्षेत्रका भग्नावशेष, प्राचीन दरबारका पर्खाल, खाल्डाखुल्डी र उत्खननमा भेटिएका सामग्रीहरूको अध्ययन गरेका थिए।

अवलोकनका क्रममा सहभागीहरूले तिलौराकोटको ऐतिहासिक गहिराइ, संरक्षण अवस्था र यस क्षेत्रको सम्भावित विश्व सम्पदा सूचीमा दर्ता गर्ने पहलबारे चासो व्यक्त गरेका थिए। उनीहरूले नेपालमा रहेको यस पवित्र स्थलले दक्षिण एसियाली सभ्यता र बुद्ध दर्शनको अध्ययनका लागि अमूल्य प्रमाण प्रस्तुत गरेको भन्दै यसको संरक्षण, अध्ययन र प्रचारमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा राखे।

सम्मेलनमा सहभागिता जनाउन भारत, चीन, जापान, थाइल्याण्ड, श्रीलङ्का, म्यान्मार, फ्रान्स, अमेरिका लगायतका देशका वैज्ञानिकहरू नेपाल आएका थिए। उनीहरूले तिलौराकोट भ्रमणले नेपालका प्राचीन सभ्यता र सांस्कृतिक सम्पदाको महत्त्वलाई विश्व समुदायमा थप पहिचान दिने विश्वास व्यक्त गरे।

कार्यक्रमका संयोजक तथा सम्मेलन आयोजक समितिका प्रतिनिधि डा. गोविन्द श्रेष्ठका अनुसार, यस्तो भ्रमणले तिलौराकोटको ऐतिहासिक महत्वबारे अन्तर्राष्ट्रिय समुदायमा जागरण ल्याउने र कपिलवस्तु क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि ठूलो योगदान पुर्‍याउनेछ। उनका अनुसार, तिलौराकोट जस्ता स्थलहरूमा अनुसन्धान र संरक्षणका लागि सहकार्य कार्यक्रम सञ्चालन गर्ने योजना पनि बनाइएको छ।

स्थानीय सरोकारवालाहरूले अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको अवलोकनले तिलौराकोटको वैश्विक पहिचान अझ मजबुत बनाएको र यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा व्यक्त गरेका छन्।


प्रकाशित : ८ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६