काठमाडौँ, ८ कात्तिक
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा त्रिपाल टाँगेर अस्थायी रुपमा पार्टी कार्यालय सञ्चालन गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले आजदेखि च्यासलस्थित कार्यालयमा त्रिपाल टाँगेर कार्यालय सञ्चालन गरिएको जानकारी दिनुभयो ।
गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा एमाले कार्यालय आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको छ । उहाँले आइतबारदेखि केन्द्रीय कार्यालयबाट उपलब्ध हुने सेवा त्रिपालबाट उपलब्ध गराउने जानकारी दिनुभयो ।
“पार्टी कार्यालयका लागि भाडामा पनि नयाँ भवन खोज्दै छौँ, च्यासलका भवन पनि मर्मत गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “नयाँ भवन नभेटिँदासम्म र मर्मत पूरा नहुँदासम्म यहीँबाट अस्थायी रुपमा त्रिपाल टाँगेर कार्यालय सञ्चालन गर्छौं ।” पार्टीलाई इञ्जिनियरहरुले बुझाएको प्रतिवेदनमा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने जनाइएको छ ।
एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर तथा व्यवसायसमेत क्षतिग्रस्त भएका थिए ।








प्रतिक्रिया