कपिलवस्तु, कात्तिक १०
नेकपा (एमाले) बाणगंगा नगर कमिटीको आयोजनामा गजेहडामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । कार्यक्रममा एमालेका नेताहरू, कार्यकर्ता र स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले हालको जेनजी आन्दोलनले जनताको वास्तविक मुद्दा भन्दा पनि केवल केपी शर्मा ओलीलाई हटाउने लक्ष्यमा सीमित रहेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार आन्दोलनको निहित उद्देश्य जनहितभन्दा सत्ता परिवर्तनमुखी देखिएको छ, जसले आन्दोलनको सार नै कमजोर बनाएको छ ।

त्यस्तै, एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बलराम अधिकारीले पनि जेनजी आन्दोलनका मागहरूबाट विमुख भई २३ र २४ गतेका गतिविधि केवल राजनीतिक उद्देश्यमा केन्द्रित भएको बताउनु भयो । उहाँले आन्दोलनका नाममा भ्रम फैलाउने प्रवृत्तिले देशको राजनीतिक स्थायित्वलाई चुनौती दिएको धारणा व्यक्त गर्नुभयो ।

एमाले कपिलवस्तुका अध्यक्ष बाबुराम खनालले वर्तमान परिस्थितिमा देशले हारेको र गलत तत्वहरूले जितिरहेको टिप्पणी गर्दै असली राष्ट्रवादी सोच र सही मूल्य–मान्यताले पुनः उचाइ लिनुपर्ने बताउनुभयो ।

त्यसैगरी, बाणगंगा नगर प्रमुख एवम् एमाले नेता चक्रपाणी अर्यालले संघीय संरचना र संविधानको मर्मअनुसार निर्वाचित जनप्रतिनिधिहरू गैरकानूनी कसरी हुन भन्ने प्रति प्रश्न गर्दै, संविधान र जनमतको सम्मान नै लोकतन्त्रको आधार हो भन्ने स्पष्ट सन्देश दिनुभयो ।

कार्यक्रममा महिला नेत्री शान्ता पाण्डे, युवा नेता तिलक गिरी, र विद्यार्थी नेता पारस मरासेनीले पनि पार्टी सुदृढीकरण, युवाको भूमिका र संगठनको दिशाबारे आफ्ना धारणा राखेका थिए ।

कार्यक्रम एमाले नगर कमिटी अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, उपाध्यक्ष भिमबहादुर थापाको स्वागत मन्तव्य र सचिव चेतनारायण भण्डारीको सञ्चालनमा सम्पन्न भएको एमाले बाणगंगाले जनाएको छ ।








प्रतिक्रिया