कपिलवस्तु, कार्तिक १२
मेयर क्लब कपिलवस्तुद्धारा आयोजना गरिएको ‘फेरि भेटौंला’ कार्यक्रम एक भावनात्मक परिवेशमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा कपिलवस्तु जिल्लाबाट बाँके जिल्लामा सरुवा हुनुभएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्री दिल कुमार तामाङलाई औपचारिक बिदाइ गर्दै आगामी कार्यकालका लागि सफलताको शुभकामना दिइएको हो।

कार्यक्रममा मेयर कल्बले तामाङको कार्यशैली, नेतृत्व क्षमता र समन्वयात्मक भूमिकाको प्रशंसा गर्दै भन्नुभयो, “तामाङज्यूले आफ्नो कार्यकालमा जिल्ला प्रशासन र स्थानीय तहबीचको सहकार्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नुभयो। उहाँको अनुशासित, संयमित र परिणाममुखी दृष्टिकोणले कपिलवस्तु जिल्लामा प्रशासनिक कामकारवाहीमा नयाँ ऊर्जा थपिएको छ।”
त्यसैगरी, विभिन्न निकायका प्रतिनिधिहरूले पनि तामाङले छोटो अवधिमै जनतामुखी सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याएको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमका सहभागीहरूले उहाँको बाँकेमा हुने आगामी कार्यकाल पनि सफल र प्रेरणादायी रहोस् भन्ने कामना गरेका छन्।

कार्यक्रममा जिल्ला समन्वय कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, महाराजगञ्ज नगर प्रमुख अब्दुल कलाम, बुद्धभूमि नगर प्रमुख केशव श्रेष्ठ, विजयनगर गाउँपालिका प्रमुख गोपाल थापा, कपिलवस्तु नगर प्रमुख सुदिप पौडेल, शिवराज नगर प्रमुख अजय थापा, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहेको थियो। बिदाइ समारोहको अन्त्यमा मेयर कल्बले “फेरि भेटौंला” भन्ने भावनात्मक शब्द सहित पुनः सहकार्यका सन्देशहरू आदान–प्रदान गर्नुभयो।








प्रतिक्रिया