कपिलवस्तु, कात्तिक १८
बैजलपुर सामुदायिक बन उपभोक्ता समूह, बाणगंगा, कपिलवस्तुले संरक्षण, पारदर्शिता, समृद्धि र पारदर्शिताको साझा संकल्प भएको सन्देश दिएको छ । बनको १३ औं वार्षिक साधारण सभाको कार्यक्रमबाट आफुलाई वनको संरक्षण र पारदर्शिताको उदाहरणको रुपमा प्रस्तुत गरेको हो ।
वनको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा सहभागीहरूले वन संरक्षण, व्यवस्थापन र पारदर्शिता सुदृढीकरणका विषयमा सुझाव र अनुभव बाँडे।

सभामा सब–डिभिजन वन कार्यालय पिपराका प्रमुख मोहन मिश्रले उमेर पुगेका रुखहरूको वैज्ञानिक व्यवस्थापन गर्दै नयाँ बिरुवा रोप्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले “वनको जीवनचक्र निरन्तर रहोस् भने रोपाइँ र संरक्षण एकसाथ अगाडि बढ्नुपर्छ” भन्दै जथाभावी रुख कटान तथा अतिक्रमणविरुद्ध सबै सरोकारवाला एकजुट हुनुपर्ने बताउनुभयो। मिश्रले बैजलपुर सामुदायिक वनमा संरक्षणको उत्कृष्ट अभ्यास भइरहेको उल्लेख गर्दै यसलाई उदाहरणीय वन क्षेत्रका रूपमा उचाले। वडा नं. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक र आर्थिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पारिरहेको बताउनुभयो। उहाँका अनुसार, “वन केवल हरियो सम्पत्ति होइन, समुदायको साझा आत्मा हो — यसको संरक्षण हाम्रो सामूहिक जिम्मेवारी हो।”

त्यसैगरी वैज्ञानिक वन व्यवस्थापन महासंघकी अध्यक्ष रेनु सेनले वन व्यवस्थापनमा पारदर्शिता र ऐन–नियमको पालना अपरिहार्य रहेको उल्लेख गर्दै सामुदायिक वनहरूबीचको प्रतिस्पर्धा उत्तम अभ्यासमा केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले बैजलपुर सामुदायिक वनले आर्थिक पारदर्शिता र नीतिगत अनुशासनमा अनुकरणीय उदाहरण प्रस्तुत गरिरहेको उल्लेख गरिन्।
वन उपभोक्ता समूहका अध्यक्ष सत्यनारायण थारुले वन संरक्षणलाई प्राथमिकतामा राख्दै “वनले मात्र वातावरण सन्तुलन होइन, सामाजिक रुपान्तरण र स्थानीय समृद्धिको बाटो खोल्न सक्छ” भन्नुभयो। उहाँले सबै सरोकारवालाको सहकार्यमार्फत वनमार्फतै समृद्ध समुदाय निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
सभामा सचिव यशोदा पाण्डेले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रेमबहादुर रेस्मीले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक नहकुल शाहीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो। ती सबै प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित भएका थिए। सभाले रु. ३ करोड ८८ लाख बजेटसहितको नयाँ आर्थिक वर्षको वार्षिक कार्ययोजना पनि स्वीकृत गरेको छ।
सचिव पाण्डेको संयोजनमा सम्पन्न साधारण सभामा वक्ताहरूले बैजलपुर जनकल्याण सामुदायिक वनको पारदर्शी कार्यशैली, नियमित व्यवस्थापन र स्थानीय सहकार्यको प्रशंसा गर्दै यसलाई वन संरक्षणको प्रेरणादायी मोडलका रूपमा अभिव्यक्त गरे।








प्रतिक्रिया