कपिलवस्तु, मंसिर ३
कपिलवस्तुको स्थानीय उत्पादन, पहिचान र सिर्जनशीलता अब बजारसँग जोडिन लागेको छ। आगामी मंसिर ५ देखि १७ गतेसम्म बाणगंगा–८ स्थित मायादेवी रंगशालामा आयोजना हुने प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी त्यसकै जीवन्त उदाहरण बन्ने संकेत देखिएको छ। आयोजक उद्योग–व्यापार संघ कपिलवस्तुले बुधबार पत्रकार सम्मेलन गर्दै मेलाका सबै तयारी पूरा भएको घोषणा ग¥यो।
संघका अध्यक्ष तथा संयोजक खिमानन्द पौडेलका अनुसार यो मेला ‘स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा चिनाउने अभियान’ का रूपमा अघि बढाइएको छ। हरेक स्टल, प्रदर्शनी र झाँकीमा कपिलवस्तुको हस्तकला, कृषिजन्य उत्पादन, घरेलु उद्योग र स्थानीय सीपको झल्को हुने तयारी गरिएको छ।

पौडेलका अनुसार “यो मेला मनोरञ्जन मात्रै होइन, स्थानीय उत्पादनप्रति गर्व महसुस गराउने मञ्च पनि हो।”
त्यस्तै ः मेला स्थलमा सौन्दर्यीकरण, बालउद्यान, प्रवेशद्वार, सचिवालयदेखि स्टेज निर्माणसम्म सबै तयारी पूरा भइसकेका छन्। विश्वकै अग्लो कुकुर, जलपरी प्रदर्शन र सिंहदरबारको झल्को दिने सचिवालय मेलाका आकर्षण बन्नेछन्।
स्वच्छ खानेपानी, व्यवस्थित पार्किङ, स्वयम्सेवक र सिसिटिभीसहितको सुरक्षा व्यवस्थाले मेलालाई सहज र सुरक्षित बनाउने संयोजकको भनाइ छ। साधारण टिकट १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ। विशेष कुरा—१०० रुपैयाँको टिकटमा सोही मूल्य बराबरको ‘सर्फ’ उपहार दिने व्यवस्था रहेको छ । त्यसैगरी, आगन्तुकका लागि निःशुल्क कफी र बिस्कुट पनि उपलब्ध हुनेछ। महोत्सव निर्देशक कृष्ण कुँवरका अनुसार “मेला आर्थिक पुनरुत्थानको साझा थलो हो। स्थानीय उद्यमी, व्यवसायी र सर्वसाधारण सबैका लागि नयाँ अवसर सिर्जना गर्नेछ।”

कृषि, हस्तकला, उद्योग र शैक्षिक प्रदर्शनीले मेलालाई ‘बहुआयामिक आर्थिक मंच’ बनाएको उनको विश्वास छ। बाणगंगा–८ का वडाध्यक्ष बाबुराम अर्यालका अनुसार मेला कपिलवस्तुको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलको प्रचार–प्रसारमा उपयोगी हुनेछ। उनले मेलामा आउने जो–कोहीलाई नजिकैका गन्तव्यको भ्रमण गर्न आह्वान गरे।
नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालले स्थानीय तथा घरेलु उत्पादनलाई प्राथमिकता दिई निःशुल्क स्टल उपलब्ध गराउने निर्णय ‘स्थानीय उद्यमशीलता प्रवर्धनका लागि महत्वपूर्ण कदम’ भएको बताए ।

प्रतिभा उजागर गर्ने मंच प्रथम डान्स स्टार कपिलवस्तु
३० जना नयाँ प्रतिभाले स्टेज पाउने ‘डान्स स्टार कपिलवस्तु’ प्रतिस्पर्धा मेलाको अर्को आकर्षण हो। दैनिक टिकटको रङ परिवर्तन र ६०–४० प्रतिशत मत प्रणालीले निष्पक्षता सुनिश्चित गरिनेछ। पत्रकार सम्मेलनमा अधिकांश वक्ताहरूको जोड, “यो मेला स्थानीय उत्पादन प्रदर्शन गर्ने मात्र होइन, स्थानीय अर्थ तन्त्र बलियो बनाउने साझा अभियान हो।” कृषक, उद्योगी, व्यवसायी र स्थानीय जनताको उत्पादन तथा क्षमताको खुला प्रस्तुति हुने भएकाले मेला कपिलवस्तुको आर्थिक, सांस्कृतिक र सामाजिक पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।








प्रतिक्रिया