१६ मंसिर कपिलवस्तु,
बाणगंगा–१ बुङ्चीस्थित सिद्धार्थ क्याम्पसमा मंगलबार १५औँ क्याम्पस सभा एक औपचारिक कार्यक्रम बीच सम्पन्न भएको छ। क्याम्पसको शैक्षिक उन्नति, व्यवस्थापनका चुनौती र शिक्षा सुधारका सम्भावित दिशाबारे व्यापक बहस सभाको मुख्य केन्द्रविन्दु रह्यो।

कार्यक्रमकी प्रमुख अतिथि तथा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले शिक्षा क्षेत्रमा गुणस्तर सुधार गर्न जिम्मेवार नेतृत्व आवश्यक रहेको बताउँदै विदेशतर्फ विद्यार्थी आकर्षण बढिरहेको परिस्थितिमा यथार्थ परक नीति–संवाद अनिवार्य भएको धारणा राख्नु भयो । ‘‘राजनीतिक चेतना र सामाजिक बोध भएका व्यक्तिहरू शिक्षाको नेतृत्वमा आउन सकेमात्र प्रभावकारी परिवर्तन सम्भव हुन्छ,’’ उहाँले भन्नुभयो।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष डम्मर शर्माले सिद्धार्थ क्याम्पस जिल्लाको पहिचान र गौरव बनेकाले यसको दिगो विकासमा सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो। देशभर क्याम्पसहरू सञ्चालनमा देखिएका चुनौती समाधानमा सरकारले ठोस पहल गर्नुपर्ने औंल्याउँदै उहाँले अस्वस्थ प्रतिस्पर्धाले शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्त्याइरहेको चचौ गर्नु भयो ।

बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले ‘पढ्दै कमाउँदै’ कार्यक्रम मार्फत विद्यार्थीको क्षमतावृद्धिमा उल्लेखनीय उपलब्धि हासिल भएको बताउनु भयो । क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा स्थानीय सरकार निरन्तर सहयात्री रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नु भयो ।

कार्यक्रमका पूर्व क्याम्पस प्रमुख बालाराम ज्ञवालीले क्याम्पसको समग्र उन्नतिका लागि प्राध्यापक, विद्यार्थी र सरोकारवाला सबै सक्रिय र जिम्मेवार बन्नुपर्नेमा जोड दिए। सञ्चालक समितिका सदस्य गोविन्द पोख्रेल, डिल्लीराम भट्टराई र मिन प्रसाद घिमिरेले क्याम्पसलाई थप सक्षम र प्रतिस्पर्धी बनाउन समन्वय अपरिहार्य रहेको बताए।
सभामा क्याम्पस प्रमुख वेदराम अर्यालले वार्षिक प्रतिवेदन र आन्तरिक लेखा समिति संयोजक गणेशबहादुर क्षेत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ।
कार्यक्रममा क्याम्पस सञ्चालक समिति, प्राध्यापक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय अगुवाहरू तथा पत्रकारको सहभागिता थियो। स्वागत मन्तव्य क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रवि बहादुर काफ्लेले राख्नुभएको कार्यक्रम उपप्राध्यापक कुलराज भुसालले सञ्चालन गर्नुभएको थियो।








प्रतिक्रिया