देश

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि



काठमाडौँ, १६ मङ्सिर 

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही मङ्सिर २० गतेदेखि सञ्चालन हुँदैछ । आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालय आयोगको कान्तिपथस्थित कार्यालयमा स्थापना गरेसँगै सो कार्यक्रमका लागि तयारी सुरू गरिएको हो । निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मङ्सिर २१ गते बिहान १० बजे २३ गते दिउँसो ४ बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले निवेदन पेस गर्नेछन् ।

मङ्सिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गरिने छ । आगामी पुस १३ र १४ गते उम्मेद्वारको बन्दसूची पेस गर्ने र माघ २० गते उम्मेद्वारहरूको बन्द सूची अन्तिम प्रकाशन हुनेछ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उद्घाटन गर्नुभएको थियो । 

समानुपातिकतर्फको निर्वाचन अधिकृतका रूपमा आयोगका सचिव माहादेव पन्थ र सहायक निर्वाचन अधिकृतका रूपमा सहसचिव यज्ञप्रसाद भट्टराईले जिम्मेवारी बहन गर्नुभएको छ । समानुपातिक निर्वाचन व्यवस्थापनका लागि  ४१  कर्मचारी खटिने छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सूत्रात्मक पद्धतिबाट राष्ट्रिय तथ्याङ्क कार्यालयसमेतको सहयोगमा कानुन बमोजिमका जातीय, भौगोलिक, लैङ्गिकलगायतका समूह छुट्याएर प्रतिनिधि चयन गरिने भएकोले सबै पक्षको भरोसा रहने विश्वास व्यक्त गर्नुभयो ।

विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ । निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ आगामी माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी मनोनयनको कार्यक्रम राखिएको छ ।

आइतबार नै नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री माननीय अनिलकुमार सिन्हाले निर्वाचन आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग निर्वाचन पूर्व तयारीको अवस्था र आगामी दिनमा निर्वाचन सम्पन्न गर्न नेपाल सरकारले आयोगलाई उपलब्ध गराउनुपर्ने सहयोगका विषयमा छलफल गर्नुभएको छ ।

–––

प्रकाशित : १७ मंसिर २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६