दिपिका सुनार
कपिलवस्तु, १८ मंसिर
१६ औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ आजदेखि बाणगंगा नगरपालिका–४, जीतपुरस्थित बुद्ध रंगशालामा सुरु हुँदैछ। बुधबार पत्रकार सम्मेलनमार्फत महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको हो।
बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष तथा महोत्सव संयोजक राजकुमार खाँणले महोत्सवलाई ऐतिहासिक र भव्य बनाउने लक्ष्यसहित सबै तयारी सम्पन्न भएको बताए। उनका अनुसार यस वर्ष जानकी मन्दिरको शैलीमा निर्माण गरिएको प्रवेशद्वार, जलपरी, सुनामी पिङ र स्नो सिटी प्रमुख आकर्षण रहनेछन्। उनले जिल्लावासी तथा छिमेकी जिल्लाका स्थानीयलाई महोत्सवको अवलोकन गरी सफल पार्न आग्रह गरे।
सोसाइटीका महासचिव तथा महोत्सव निर्देशक बुद्धि बहादुर रोकाहा क्षेत्री ९दिनेश० का अनुसार जेन्जी आन्दोलनपछि उत्पन्न अस्थिर वातावरणबीच देश शान्ति र सहअस्तित्वतर्फ अघि बढोस् भन्ने कामनासहित बौद्धमार्गीहरूको उपस्थितिमा परेवा उडाएर महोत्सवको उद्घाटन गरिनेछ। महोत्सवमा स्थानीय कृषि उत्पादन, धार्मिक–पर्यटनस्थलको प्रवर्द्धन, शैक्षिक कार्यक्रम तथा राष्ट्रिय–स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य विकास बन्जाडेले महोत्सवको प्रचार–प्रसारमा सञ्चार क्षेत्रबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए।
महोत्सवमा ३०० स्टल रहनेछन् भने कृषि तथा औद्योगिक प्रदर्शनी, स्थानीय उत्पादन, घरेलु उद्योग, स्नो सिटी, हिउँमा खेलेको अनुभूति, जलपरी, सुनामी पिङलगायतका संरचना मुख्य आकर्षण हुनेछन्। साथै १४ औं कपिलवस्तु डान्स आइडल, मम्मी डान्स, सांस्कृतिक प्रस्तुति, खाद्यान्न तथा व्यापारिक स्टल, बालउद्यान लगायत विविध कार्यक्रम संचालन गरिनेछ।
स्थानीय तह, उद्योगी–व्यवसायी, समाजसेवी तथा सरोकारवालाको सहकार्यमा आयोजना हुने महोत्सवले लुम्बिनी प्रदेशको व्यापार, पर्यटन र स्थानीय उत्पादन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकको अपेक्षा छ। उद्घाटन समारोह कशल यात्रा, बाजागाजा र झाँकी प्रदर्शनसहित भव्य रूपमा सम्पन्न गरिने जनाइएको छ।








प्रतिक्रिया