कपिलवस्तु, बाणगंगा–१८ मंसिर
बाणगंगा नगरपालिका–४ ठाकुरापुरमा निर्माण हुन लागेको ओभरहेड खानेपानी ट्यांकी निर्माण परियोजनाको शिलान्यास बिहीबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ। स्थानीय सहलगानीमा अघि बढाइएको यो परियोजना बाणगंगाको ठूला खानेपानी आयोजना मध्ये एक मानिएको छ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य माननीय विष्णु प्रसाद पन्थीले ट्यांकी निर्माण कार्यको शिलान्यास गर्दै शुद्ध र सुरक्षित पिउने पानी स्वास्थ्य र जीवनका लागि अत्यावश्यक भएको बताउँदै समयमै र गुणवत्तापूर्वक काम सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्नु भयो ।
“यो आयोजना बाणगंगा बासीका लागि मात्र होइन, कपिलवस्तु जिल्लाकै गौरव बन्ने परियोजना हो,” पन्थीले भन्नु भयो ।

भूतपूर्व सैनिक तथा खानेपानी–सरसफाइ उपभोक्ता संस्था ठाकुरापुरका अध्यक्ष राजेन्द्र विक्रम शाहले परियोजना सम्पन्न भएपछि ठाकुरापुरसहित आसपासका क्षेत्रमा सुरक्षित पिउने पानी सहजै उपलब्ध भई समुदायको दैनिक जीवनस्तरमा उल्लेखनीय सुधार आउने बताउनु भयो ।
विशिष्ट अतिथि शिव मन्दिर सामुदायिक वनका अध्यक्ष झलक मल्ल ठकुरीले खानेपानी ट्यांकी निर्माणले स्थानीय स्वास्थ्य, सरसफाइ तथा समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नु भयो ।

संस्थाका सचिव कृष्ण बहादुर शाहीका अनुसार ओभरहेड खानेपानी ट्यांकी निर्माणको कुल लागत करिब ११ करोड ५० लाख रुपैयाँ रहेको छ। भूतपूर्व सैनिक खानेपानी आयोजनाको सहलगानीमा बन्ने यस दोस्रो चरणको आयोजना सम्पन्न भएपछि बाणगंगा–४ ठाकुरापुरका साथै नगरका १, ३ र ४ नं वडाका उपभोक्ताले गुणस्तरीय पिउने पानी नियमितरूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमा लामो समयदेखि महसुस गरिएको खानेपानी आवश्यकता पूरा हुने भएकाले शिलान्यास समारोहलाई स्थानीयले महत्वका साथ स्वागत गरेका थिए।








प्रतिक्रिया