सिरहा, २६ मङ्सिर, (रासस)
नेपाल प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएका प्रतिबन्धित मुङ्ग्री जातका करिब १०० केजी माछा बरामद गरी नष्ट गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले यहाँस्थित गोलबजार–धनगढी सीमाक्षेत्रको गागन खोलाबाट बिहीबार उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा प्रहरी निरीक्षक सुदन केसीका अनुसार माछासहित एक मोटरसाइकल बरामद गरिएको छ । बरामद गरिएको माछा गोलबजार–८ चोहर्वाका राजा सहनीको भएको उहाँले बताउनुभयो ।
सहनीले दैनिक रूपमा करिब आधा दर्जन मोटरसाइकल प्रयोग गरी भारतबाट प्रतिबन्धित मुङ्ग्री तथा जलकपुर जातका माछा ल्याई लहान, धनगढी, गोलबजार, मिर्चैया, विष्णुपुर र सिरहा सदरमुकामका व्यापारीलाई आपूर्ति गर्दै आएको स्थानीय बताउँछन् । उनले सीमा क्षेत्रका विभिन्न बाटो प्रयोग गरी माछा भित्र्याउने गरेको आरोप छ ।
मुङ्ग्री माछा मानव स्वास्थ्यका लागि जोखिमयुक्त हुने भएकाले सरकारले प्रतिबन्धित लगाएको छ । अस्वस्थकर वातावरणमा हुर्काइने, रसायनको प्रयोग हुने सम्भावना बढी रहने र यसले स्थानीय वातावरण तथा जलचर प्रणालीमा नकारात्मक असर पार्ने भएकाले नेपालमा यसमाथि प्रतिबन्ध लगाइएको हो ।
बरामद गरिएको माछा इलाका प्रहरी कार्यालय परिसरमा स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया