ब्रेकिंग न्युज

निर्वाचनको वहानामा विकासका काममा ढिलासुस्ती नगर्न मुख्यमन्त्रीको निर्देशन



कर्णाली, ७ माघ

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आसन्न फागुन २१ गते हुने निर्वाचनको वहानामा विकासका काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ । कर्णाली प्रदेश सरकारअन्तर्गत मन्त्रालयहरूको आजदेखि सुरु भएको अर्धवार्षिक समीक्षामा बोल्दै मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचन देखाएर विकास निर्माण र सेवा प्रवाह रोक्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीलाई वहाना चाहिएको छ । निर्वाचनको वहाना बनाएर विकासका काम रोकिनु हँुदैन र सेवा प्रवाहमा ढिलासुस्ती स्वीकार्य हुँदैन ।” उहाँले मन्त्रालय अन्तर्गतका कामको समय तालिका निर्माण गरिएको भए पनि तालिका अनुसार काम नभएकामा असन्तुष्टि व्यक्त गर्नुभयो । निर्वाचन आचारसंहिताले नयाँ कामलाई रोके पनि नियमित वार्षिक नीति तथा कार्यक्रममा समावेश भई स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने उहाँले प्रष्ट्याउनुभयो । कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बजेट कार्यान्वयनमा देखिएका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो । समयमै खर्च र लक्ष्यअनुसार प्रगति हासिल गर्न मन्त्रालय तथा मातहतका कार्यालयबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो । जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले ऊर्जा र जलस्रोत क्षेत्र कर्णालीको समग्र विकासको आधार भएको उल्लेख गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा गर्दै आगामी कार्ययोजनाका विषयमासमेत छलफल गरिएको थियो । कार्यक्रममा प्रमुख सचिव वीरेन्द्रकुमार यादव, अर्थ सचिव, ऊर्जा सचिव तथा मन्त्रालयअन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित : ८ माघ २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६