म्याग्दी, १८ माघ ः धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ । नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व मनाउन, आफन्तको बिहेवारी, किरिया, छेवार र चुनावमा मात्र जन्मथलो फर्कनुहुन्छ ।
“गुणस्तरीय स्वास्थ्य र शिक्षाका साथै सुविधाका लागि बजारमा बस्नुपरेको हो”, उहाँले भन्नुभयो, “गाउँमा विकासका पूर्वाधार र सुविधाका साथै रोजगारी र आयआर्जनको अवसर भएमा बजारमा बस्नुपर्ने थिएन ।”
अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका भीम पुन पनि विदेशमा रहेका सन्तानका छोराछोरी पढाउन पोखरामा बस्न थालेको आठ वर्ष भयो । “गाउँमा खेतीयोग्य जमिन बाँझै छ, विद्यार्थी नभएर स्कुल रित्तिने अवस्था छ, छोराछोरी कमाउन विदेश गएका छन्, बुढेसकालमा नातिनातिना पढाउन बजारमा बस्नुपरेको छ”, उहाँले भन्नुभयो, “गाउँमै बस्ने वातावरण भैदिए सजिलो हुन्थ्यो ।”
पोखरामा मतमाग्न पोखरा पुगेका म्याग्दीमा आसन्न चुनावका उम्मेदवारहरूसँग मतदाताले छन्त्याल र पुनले जस्तै बसाइँसराइ रोक्नका लागि गाउँमै बस्ने वातावरण बनाउने नीति र योजनाको माग गरेका छन् । पोखरामा अस्थायी बसोबास गर्नुहुने धवलागिरि गाउँपालिका–७ धारापानीका झलक थापाले गाउँमा आयआर्जन, रोजगारीको अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुविधाको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
१९ माघ २०८२, आइतबार








प्रतिक्रिया