अर्थ-वाणिज्य

दिगो वन व्यवस्थापनबाट भविष्य कोर्दै नव प्रभात

८० वर्षे वनबाली चक्रले हरियाली, समृद्धि र नयाँ अभ्यास



लक्ष्मण प्रसाद बेल्बासे

कपिलवस्तु, बाणगंगा, १० जेठ

वन केवल रुख–बिरुवाको समूह होइन, यो वर्तमान र भावी पुस्ताको जीवनसँग जोडिएको अमूल्य प्राकृतिक सम्पत्ति हो। यही सोचलाई व्यवहारमा उतार्दै कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित नव प्रभात सामुदायिक वन उपभोक्ता समूहले दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन र सामाजिक रूपान्तरणलाई एकसाथ अघि बढाउँदै उदाहरणीय अभ्यास प्रस्तुत गरेको छ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट उत्तरतर्फ करिब २.५ किलोमिटर दूरीमा अवस्थित यो सामुदायिक वन ३७७.६३ हेक्टर क्षेत्रफलमा फैलिएको छ। वनले केवल प्राकृतिक सम्पत्तिको संरक्षण मात्र गरेको छैन, स्थानीय समुदायको जीवनशैली, वातावरणीय सन्तुलन र सामाजिक विकासलाई समेत जोड्दै दिगो विकासको नमुना बनेको देखिन्छ।


समूहका अध्यक्ष डिल्लीराज रेग्मीका अनुसार वन संरक्षण केवल रुख जोगाउने अभियान नभई सामाजिक उत्तरदायित्व, जलवायु संकट न्यूनीकरण, आर्थिक पारदर्शिता तथा भावी पुस्तालाई सुरक्षित भविष्य हस्तान्तरण गर्ने दीर्घकालीन अभियान हो। उहाँका अनुसार सामुदायिक वनलाई संरक्षणमा मात्र सीमित नगरी विकास र समृद्धिको आधारका रूपमा अघि बढाइएको छ।
वन र मानव जीवनबीच गहिरो समानता रहेको पाइन्छ। जसरी मानिस जन्मिन्छ, हुर्किन्छ, परिपक्व बन्छ र नयाँ पुस्तालाई स्थान छाड्छ, त्यसरी नै वनस्पतिको जीवनचक्र पनि निरन्तर चलिरहन्छ। एउटा रुख ढलेपछि अर्को बिरुवाले जीवनको यात्रा अगाडि बढाउँछ। यही प्राकृतिक चक्रको संरक्षणलाई वैज्ञानिक वन व्यवस्थापनको मूल मर्मका रूपमा नव प्रभातले आत्मसात गरेको छ।

८० वर्षे वनबाली चक्र वन व्यवस्थापनको दीर्घकालीन दृष्टि
नव प्रभात सामुदायिक वनको विशेषता भनेको यसले अवलम्बन गरेको ८० वर्षे वनबाली चक्र प्रणाली हो। वन क्षेत्रलाई आठ उपखण्डमा विभाजन गरी प्रत्येक दशकमा संरक्षण, संवर्धन, पुनरुत्पादन र विकासका कार्यक्रम सञ्चालन गरिँदै आएको छ। यो प्रणालीले वनलाई केवल वर्तमानका लागि नभई आगामी पुस्ताका लागि समेत सुरक्षित राख्ने दीर्घकालीन सोचलाई प्रतिबिम्बित गर्छ।


वन क्षेत्रमा वार्षिक रूपमा सरसफाइ, झाडी व्यवस्थापन, माटो खुकुलो बनाउने, बिरुवा गोडमेल, मिचाहा प्रजाति हटाउने तथा पुनरुत्पादन क्षेत्र संरक्षणजस्ता गतिविधि नियमित सञ्चालन हुँदै आएका छन्। हालसम्म १७ हेक्टर क्षेत्रमा काठे पोल र जालीसहित तारबार सम्पन्न भएको तथ्यांकले देखाउँछ। यसले वन संरक्षणलाई योजनामुखी, व्यवस्थित र परिणाममुखी बनाएको स्थानीयहरूको विश्वास छ।
वनले केवल काठ, घाँस वा वनजन्य वस्तु उत्पादन मात्र गर्दैन, यसले वातावरणीय सन्तुलन कायम राख्ने अदृश्य जिम्मेवारी पनि वहन गरिरहेको हुन्छ। परिपक्व रुखहरूले जीवनकालभर ठूलो मात्रामा कार्बन सञ्चित गर्ने गर्छन् भने नयाँ हुर्किरहेका हजारौँ बिरुवाले तीव्र रूपमा कार्बन सोस्ने क्षमता राख्छन्।
यसले वायुमण्डल स्वच्छ बनाउन, तापक्रम सन्तुलन कायम राख्न तथा जलवायु परिवर्तनबाट सिर्जित चुनौती न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पु¥याउँछ। जलवायु परिवर्तनको बढ्दो जोखिमका बीच नव प्रभात सामुदायिक वनले हरियाली संरक्षणलाई वातावरणीय अभियानसँग जोडेर अघि बढाएको देखिन्छ।


नव प्रभात सामुदायिक वनले वन व्यवस्थापनलाई सामाजिक विकाससँग पनि जोडेको छ। आर्थिक पारदर्शिता, जवाफदेहिता, मितव्ययिता र सहभागितामूलक व्यवस्थापनमार्फत संस्थालाई सबल बनाउने प्रयास भइरहेको छ।
समूहले सिंचाइ, बाटोघाटो निर्माण, सीप विकास, तालिम, प्राविधिक क्षमता अभिवृद्धि तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेको छ। वनले कृषकको खेती संरक्षणका लागि तारपोल निर्माण गरेको छ भने करिब ५ किलोमिटर सिंचाइ कुलो निर्माण सम्पन्न गरी कृषि उत्पादनमा सहयोग पु¥याएको छ। त्यस्तै उपभोक्ताका निम्ति ब्यामसाला निर्माण गरी दैनिक एक सय बढीले ब्याम गर्ने गरेको अध्यक्ष रेग्मीको भनाइ रहेको छ ।
सामुदायिक वन कार्यालयको माथिल्लो तलामा निर्माणाधीन काठै–काठले बनेको आकर्षक सभा हलले स्थानीय स्रोतको उपयोग र वनप्रतिको आत्मनिर्भर सोचलाई थप उजागर गरेको छ। कार्यालय भवन निर्माणमा पनि काठको अधिकतम प्रयोग गरिएको छ, जसले वन र विकासबीचको सम्बन्धलाई जीवन्त बनाएको छ।
नव प्रभात सामुदायिक वनले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण लगानी गरेको छ। बाणगंगा बहुमुखी क्याम्पस, बाणगंगा माध्यमिक विद्यालय, सिसनियास्थित मदरसा विद्यालय तथा बालापुरको बाल विकास केन्द्रमा शैक्षिक स्तर उन्नतिका लागि अक्षयकोष निर्माणमा सहयोग पु¥याएको छ।
त्यस्तै स्थानीय मठ–मन्दिर निर्माण, सार्वजनिक जग्गा संरक्षण, खेलकुद मैदान स्तरोन्नति लगायतका क्षेत्रमा पनि वनले सहयोग पु¥याएको छ। यसले वनलाई केवल प्राकृतिक स्रोतको रूपमा होइन, समुदायको सामाजिक विकास साझेदारका रूपमा स्थापित गरेको देखिन्छ।
नव प्रभात सामुदायिक वनको अभ्यासले एउटा स्पष्ट सन्देश दिएको छ— हरियाली जोगियो भने जीवन जोगिन्छ, समुदाय समृद्ध बन्छ र भविष्य सुरक्षित रहन्छ। वन संरक्षणको दायरा रुख जोगाउने सीमाभित्र मात्र होइन, दिगो भविष्य निर्माणको साझा यात्रा भित्र पनि पर्दोरहेछ भन्ने सन्देश नव प्रभातले व्यवहारमै प्रमाणित गरिरहेको तथ्यले पुष्टी गरेको छ।

प्रकाशित : १० जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६