म्याग्दी, ३० फागुन
धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा धवलागिरि गाउँपालिकाले मुना गाउँको सरसफाइ र ढल व्यवस्थापनका लागि नाली (पक्की नहर) निर्माण थालेको हो । मुनामा हाल धवलागिरि गाउँपालिकाको केन्द्र रहेको छ । भिरालो पाखोमा गुजमुज्ज बाक्लो बस्ति रहेको मुनाका घरबाट निस्कने फोहर पानी र बर्खायाममा बग्ने पानीको सुरक्षित तथा व्यवस्थित निकासका लागि आयोजना सञ्चालन गरेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो । “बर्खामा पाखामा बग्ने पानीले गाउँलाई असुरक्षित र घरबाट निस्कने ढलका कारण फोहर व्यवस्थापनमा चुनौती छ”, उहाँले भन्नुभयो, “मुना गाउँलाई सफा र सुरक्षित बनाउने उद्देश्यले आयोजना सञ्चालन गरेका हौँ ।” मुनामा करिब ३०० घरपरिवारको बसोबास रहेको छ । उक्त योजना निर्माणका लागि गत माघ २५ गते मङ्गला कन्स्ट्रक्सन प्रालीले रु ६० लाख ७८ हजार ७४७ मा ठेक्का सम्झौता गरेको थियो । आगामी असार १५ गतेसम्म ठेक्काको म्याद रहेको छ । योजनामार्फत ७५० मिटर पक्की नाला निर्माण गरिने धवलागिरि गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख लोकेन्द्र रावलले जानकारी दिनुभयो । गत वर्ष वडा नं ४ मुदीमा ढल व्यवस्थापन आयोजना सञ्चालन भएको थियो । सङ्घीय विशेष अनुदानको बजेटबाट मुदीमा रु ३७ लाख ७७ हजारमा ठेक्का सम्झौता गरी ४०० मिटर पक्की नहर निर्माण भएको गाउँपालिकाले जनाएको छ । —
Powered By Orson Infotech








प्रतिक्रिया