दमौली (तनहुँ), ३० फागुन
मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम भइरहेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७७ प्रतिशत प्रगति भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । उक्त खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो । हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको उहाँले बताउनुभयो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको छ । पाण्डेका अनुसार पुल निर्माणका लागि विसं २०७९ साउन २६ गते अन्नक जेडआइस्टी जेभीसँग सम्झौता भएको थियो । पाण्डेले भन्नुभयो, “पुल निर्माणको म्याद सकिएपछि पुनः म्याद थपिएको छ । थप भएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।” चालु आर्थिक वर्षभित्रै पुल निर्माण सकिने लक्ष्य राखिएको पाण्डेको भनाइ छ । तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान रहनेछ । पुलको वारिपारी दुई÷दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेको छ । उहाँका अनुसार फाउण्डेशनदेखि सुपर स्ट्रक्चरको काम सकिएको छ । उहाँले भन्नुभयो, “मिडल स्पान दुई वटा कङ्क्रिट नेचर आर्क ब्रिज हो । त्यसको काम भइरहेको छ ।” रु एक अर्ब २१ करोड भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ । निर्माण कम्पनी अन्नक जेडआइष्टी जेभीका साइट म्यानेजर दिनेशकुमार श्रेष्ठले निर्धारित मितिअगावै पुल निर्माण सकिने जानकारी दिनुभयो । उहाँका अनुसार असार १९ गतेसम्म म्याद रहेपनि सोभन्दाअगावै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुल निर्माणका लागि हाल दैनिक १५० कामदार खटाइएको छ । उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुल भन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ । –––








प्रतिक्रिया