तौलिहवा १ वैशाख
कपिलवस्तु नगरपालिका, तौलिहवाले आर्थिक वर्ष २०८१/०८२ मा विपद् व्यवस्थापन तर्फ प्रभावकारी पहल गर्दै राहत वितरण, कोष व्यवस्थापन तथा दीर्घकालीन योजना निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको छ।
नगरपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा ५२ लाख ९८ हजार रुपैयाँमध्ये ३ लाख १९ हजार रुपैयाँ खर्च गरिएको छ। यसमध्ये विपदमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ राहतस्वरूप प्रदान गरिएको छ, जसले पीडित परिवारलाई केही हदसम्म सहारा पु¥याएको छ।
त्यसैगरी, विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले १४ घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ भने ५२ जना लाभग्राहीलाई कुल ५ लाख १९ हजार रुपैयाँ नगद राहत प्रदान गरिएको छ। यसले नगरपालिकाले विपद्को समयमा छिटो प्रतिकार्य र सहयोग गर्ने क्षमता विकास गरेको संकेत गर्छ।
नीतिगत तथा संरचनागत सुधारतर्फ पनि नगरपालिका अघि बढेको देखिन्छ। “स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा” को मस्यौदा तयार गरिएको छ, जसले भविष्यमा विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्न मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
समग्रमा हेर्दा, नगरपालिकाले विपद् व्यवस्थापनलाई राहत वितरणमा मात्र सीमित नगरी योजना निर्माण र कोष परिचालनमार्फत दिगो प्रणाली विकासतर्फ उन्मुख भएको देखिन्छ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन पूर्वतयारीमा लगानी वृद्धि , विपद् व्यवस्थापन कोष विस्तार , द्रुत प्रतिकार्य संयन्त्र सुदृढीकरण, जलवायु उत्थानशील योजना कार्यान्वयन, पारदर्शिता र अनुगमन प्रणाली मजबुत बनाउने लगायतका विषयवस्तुमा केही पक्षहरूमा ध्यान दिन उपयुक्त देखिन्छ ।
कपिलवस्तु नगरपालिकाले विपद् व्यवस्थापनमा देखाएको सक्रियता सकारात्मक सन्देश दिने खालको छ। अब यसलाई अझ सुदृढ गर्दै पूर्वतयारी, दिगोपन र जनसहभागितामा आधारित प्रणाली विकास गर्न सकेमा आगामी दिनमा विपद्को असर न्यूनीकरण गर्न अझ प्रभावकारी हुने अपेक्षा गर्न सकिने सरोकारवालाको तर्क रहेको छ ।








प्रतिक्रिया