देश

बुद्धभूमि नगरपालिकाको संस्थागत सुधारमा फड्को

पारदर्शिता, प्रविधि र सुशासनमा प्रगति



बुद्धभूमि, १ वैशाख

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सुशासन, पारदर्शिता र संस्थागत क्षमता अभिवृद्धितर्फ उल्लेखनीय उपलब्धि हासिल गरेको तथ्यहरुले देखाएको छ। विभिन्न सूचकहरूमा सुधारसँगै नगरपालिकाले प्रभावकारी प्रशासनिक अभ्यासको उदाहरण प्रस्तुत गरेको छ।
नगरपालिकाले सो अवधिमा तीनवटै सार्वजनिक सुनुवाइ कार्यक्रम समयमै सम्पन्न गरेको छ, जसले नागरिकसँग प्रत्यक्ष संवाद र जवाफदेहितालाई सुदृढ बनाएको छ। साथै, स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन कार्य सम्पन्न गरी नतिजा सार्वजनिक गर्ने पहिलो स्थानीय तह बन्नु आफैंमा महत्वपूर्ण उपलब्धि हो।
संस्थागत क्षमतामा पनि सुधार देखिएको छ। आर्थिक वर्ष २०७९/०८० मा ८१ अंक प्राप्त गरेको नगरपालिकाले २०८०/०८१ मा ८६ अंक हासिल गरेको छ। यस्तै, वित्तीय जोखिम मूल्याङ्कन तर्फ पनि सुधार देखिएको छ—२०७९/०८० मा ७२.५ अंक रहेकोमा २०८०/०८१ मा ८१ अंक पुगेको छ। यसले वित्तीय अनुशासन र व्यवस्थापनमा सुधार आएको स्पष्ट संकेत गर्दछ।
नियामक निकायबाट आएका उजुरीहरूप्रति पनि नगरपालिका संवेदनशील देखिएको छ। प्राप्त उजुरीमध्ये २५ वटा पत्रको जवाफ प्रदान गरिएको छ भने १० वटा उजुरी तामेलीमा गएका छन्। यसले प्रशासनिक प्रक्रियामा जवाफदेहिता कायम गर्ने प्रयास देखाउँछ।
विपद् व्यवस्थापनतर्फ पनि नगरपालिकाले पूर्वतयारीका कार्यक्रम सञ्चालन गरेको छ। सितलहरबाट प्रभावित नागरिकलाई दाउरा तथा कम्बल वितरण गरिएको छ भने डढेलो तथा आगलागी नियन्त्रणका लागि वारुण यन्त्र खरिद गरी श्री शमशेर दल गण गोरुसिंगे सँगको सहकार्यमा व्यवस्थापन गरिएको छ।
प्रविधिको प्रयोगमा पनि नगरपालिकाले महत्वपूर्ण कदम चालेको छ। नगरपालिका, सबै वडा कार्यालय र विद्यालयहरूमा विद्युतीय हाजिरी प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएको छ, जसले पारदर्शिता र कार्यक्षमता वृद्धि गरेको छ।
यसैबीच, संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य अघि बढाइएको छ, जसले प्रशासनिक संरचना अझ व्यवस्थित र प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
बुद्धभूमि नगरपालिकाले सीमित स्रोतसाधनका बीच पनि सुशासन, पारदर्शिता र प्रविधिमैत्री प्रशासनको दिशामा उल्लेखनीय प्रगति गरेको देखिन्छ। आगामी दिनमा यस्ता प्रयासलाई निरन्तरता दिँदै सेवा प्रवाहलाई अझ नागरिकमैत्री, प्रभावकारी र दिगो बनाउन सकेमा स्थानीय तहको विश्वास र विश्वसनीयता अझ मजबुत बन्ने अपेक्षा गर्न सकिने सरोकारवालाको धारणा रहेका छ

प्रकाशित : १ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६