कपिलवस्तु ३ वैशाख
कपिलवस्तुको बाणगंगा नगरपालिकामा फोहोर मैला व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यसहित नगरस्तरीय सर्वदलीय बैठक सम्पन्न भएको छ। नगरपालिकामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, साथै फोहोर मैला व्यवस्थापनसँग सम्बन्धित निकायका पदाधिकारीहरूको उपस्थितिमा आयोजित बैठकमा फोहोर व्यवस्थापनका विविध पक्षमा व्यापक छलफल गरिएको थियो।

बैठकले नगरपालिकाले प्रस्ताव गरेको फोहोर मैला प्रशोधन केन्द्रको स्थानबारे समेत स्थलगत अवलोकन गरेको छ। प्रस्तावित केन्द्र बाणगंगा नगरपालिका वडा नं. ७ को खारखानी क्षेत्रदेखि करिब ४ किलोमिटर उत्तरमा पर्ने स्थानमा रहेको छ।
स्थलगत अनुगमनपछि नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकारवालाको साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे। उनले नगरपालिकाले वैज्ञानिक र दिगो व्यवस्थापन प्रणाली विकास गर्ने लक्ष्यका साथ अघि बढेको जानकारी दिए।

यसैबीच, नगर प्रमुख चक्रपाणी अर्यालको अगुवाइमा फोहोर मैला व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सरोकारवालासँग निरन्तर संवाद र सहकार्यमार्फत समाधान खोज्ने प्रयास भइरहेको जनाइएको छ। नगरपालिकाले यो विषयलाई उच्च प्राथमिकतामा राखी टुंगोमा पु¥याउने तयारी गरिरहेको छ।
बैठकले बाणगंगा नगरपालिकाको फोहोर व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सम्पूर्ण नगरवासीलाई सकारात्मक दृष्टिकोणका साथ सहयोग गर्न हार्दिक अपिल समेत गरेको छ ।








प्रतिक्रिया