कपिलवस्तु, ९ बैशाख
विजयनगर गाउँपालिकाले समग्र वित्तीय व्यवस्थापनतर्फ सन्तोषजनक प्रगति हासिल गरेको देखिएको छ। आर्थिक वर्ष २०८१/०८२ मा सार्वजनिक गरिएको प्रगति विवरण अनुसार गाउँपालिकाले कुल ५७ करोड ७९ लाख ८८ हजार ६१५ रुपैयाँ आम्दानी मध्ये ५३ करोड ७० लाख २७ हजार ५७८ रुपैयाँ खर्च गर्दै ९२.९५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।
संघीय सरकारबाट प्राप्त अनुदान तथा बजेट तर्फ सबैभन्दा उच्च ९४.६५ प्रतिशत खर्च भएको छ। कुल ४९ करोड १६ लाख रुपैयाँ मध्ये ४६ करोड ५० लाख रुपैयाँ खर्च भएको तथ्यांकले संघीय स्रोतको प्रभावकारी उपयोग भएको संकेत गर्दछ। यस्तै, प्रदेश सरकारबाट प्राप्त २ करोड ९६ लाख रुपैयाँ मध्ये ७५.२५ प्रतिशत मात्र खर्च भएको देखिन्छ, जसले प्रदेश स्रोत परिचालनमा अझ सुधारको आवश्यकता औंल्याउँछ।
आन्तरिक आयतर्फ गाउँपालिकाले ५ करोड ६६ लाख रुपैयाँ संकलन गरी ८७.६५ प्रतिशत खर्च गरेको छ। यसले आन्तरिक स्रोत परिचालनमा सकारात्मक प्रयास देखिए पनि आय वृद्धिका थप सम्भावना अझै बाँकी रहेको देखिन्छ।
विषयगत क्षेत्रगत विश्लेषण गर्दा सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी ८३.३५ प्रतिशत खर्च भएको छ, जसले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकता दिइएको देखाउँछ। पूर्वाधार विकासतर्फ ८१.४५ प्रतिशत खर्च भएको छ, जसले सडक, भवन तथा भौतिक संरचना निर्माणमा उल्लेख्य प्रगति भएको संकेत गर्दछ।
यद्यपि आर्थिक विकास क्षेत्र भने कमजोर देखिएको छ। कुल ५ करोड २६ लाख रुपैयाँ बजेट मध्ये मात्र ३३.९५ प्रतिशत खर्च हुनु उत्पादन मूलक र रोजगारी सिर्जनासँग सम्बन्धित कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको संकेत हो।
सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ८३.२५ प्रतिशत र प्रशासनिक खर्चतर्फ ९२.३५ प्रतिशत प्रगति देखिएको छ, जसले सेवा प्रवाह र संस्थागत व्यवस्थापन तर्फ सन्तुलित प्रयास भएको देखाउँछ।
समग्रमा, गाउँपालिकाले वित्तीय अनुशासन र खर्च कार्यान्वयनमा राम्रो प्रगति हासिल गरे पनि आर्थिक विकास जस्ता दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा खर्च वृद्धि गर्नु पर्नेमा पालिको जोड रहने अध्यक्ष गोपाल बहादुर थापाले तर्क गर्नु भयो । आगामी दिनमा उत्पादनमुखी कार्यक्रम, रोजगारी सिर्जना र आन्तरिक आय वृद्धिमा केन्द्रित हुँदै बजेट कार्यान्वयनलाई अझ प्रभावकारी बनाइने अध्यक्ष थापाले बताउनु भयो ।








प्रतिक्रिया