देश

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छः सभापति थापा



मोरङ, ९ वैशाखः

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस कोशी प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीमा सभापति थापाले युवालाई पार्टी, इतिहास, विगतमा गरेका कार्य, सुशासन कायम राख्न गरेका कार्य र मुलुकको विकासमा यसको योगदानका विषयमा जानकारी दिनु आवश्यक रहेको बताउनुभयो । सभापति थापाले गत निर्वाचनमा पार्टीको घटेको १० लाख मतका सम्बन्धमा आवश्यक चिन्तन गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो । उहाँले स्थानीय र प्रदेशमा अहिले पनि धेरै स्थानमा कांग्रेसको सरकार रहेकाले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनहितको पक्षमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसलाई स्मार्ट बनाउन क्रियाशील सदस्यहरुको नवीकरण अद्यावधिक गर्न लागेको उल्लेख गर्दै सभापति थापाले पार्टीका ज्येष्ठ सदस्यको सदस्यता ऐतिहासिक भएकाले यसलाई डिजिटल गरी सुरक्षित गरिने प्रष्ट पार्नुभयो । उहाँले आगामी १५औँ महाधिवेशनमा सबैलाई सहभागी गराउने जिम्मेवारी आफ्नो रहेको भन्दै रिसाएका १० लाख मतदातालाई पार्टीमा फर्काइने बताउनुभयो । उहाँले पार्टीमा चार पुस्तालाईसँगै मिलाएर सङ्गठन मजबुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टी उपसभापति पुष्पा भुसालले हालै सम्पन्न निर्वाचनको परिणामबाट निराश नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले सङ्गठनलाई सुदृढ बनाई पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । पार्टी महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो एवं सुदृढ बनाउन क्रियाशील सदस्यहरुले पार्टीको नीतिका विषयमा घरघरमा जनतालाई जानकारी दिनु जरुरी रहेको बताउनुभयो । पार्टीमा उत्साह र नयाँ जीवन ल्याउन वडास्तरीय सदस्य डिजिटल अद्यावधिक गर्न लागिएको उहाँले जानकारी दिनुभयो । अर्का महामन्त्री गुरुराज घिमिरेले पार्टीलाई पुर्नजीवन दिन वडास्तरदेखि केन्द्रसम्म अद्यावधिक गर्न लागिएको बताउनुभयो । स्थानीय सरकारले गरेको लोकप्रिय कार्यको प्रचार प्रसार नहुनु पनि निर्वाचनको पराजयको एउटा कारण भएको उहाँको भनाइ थियो ।

प्रकाशित : ९ बैशाख २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६