ब्रेकिंग न्युज

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य



लुम्बिनी, १० वैशाख

लुम्बिनी प्रदेशसभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको हो । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको अधिवेशन अन्त्यसम्बन्धी पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सभामा सुनाउनुभयो । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले आज राति १२ः०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता कमल ज्ञवालीले जानकारी दिनुभयो । प्रदेशसरकारको मन्त्रिपरिषद् निर्णयअनुसार मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत गरिएको अनुरोधका आधारमा अधिवेशन अन्त्य गरिएको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । हिउँदे अधिवेसनमा १६ वटा बैठक बसेका थिए । प्रदेशसभाको आज बसेको १६औँ बैठकले जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत पारित गरेको छ । मुख्यमन्त्री आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले उक्त विधेयकमाथि ‘छलफल गरी पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख घर्तीले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो । बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्री ढकालले दिनुभएको छ । त्यस्तै सामाजिक विकास समितिका सभापति यमबहादुर नेपालीले ‘सामाजिक विकास समितिको वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुभयो । वसन्ती न्यौपाने, अम्बिका काफ्ले, यमूना रोका तामाङ, भण्डारीलाल अहिर, शान्ति लोध, भगवती अधिकारीलगायत प्रदेशसभा सदस्यहरूले बैठकको शून्य समयमा समसामायिक विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

प्रकाशित : १० बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६