किमाथाङ्का (सङ्खुवासभा) ११ वैशाखः
सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयबाट एक हजार बढी नागरिकले सीमापास लिएका छन् । विसं २०८१ जेठ १२ गते उत्तरी क्षेत्र किमाथाङ्कानाकासहित १४ वटा नाका एकैसाथ सञ्चालनमा आएका थिए । उत्तरी क्षेत्र किमाथाङ्कानाका सञ्चालनमा आएपछि एक हजार ३३८ सीमापास वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा एक हजार ८२ जना र २०८३/८३ मा २५६ जनाले सीमापास लिएको सीमा प्रशासन कार्यालयकी सृजना मेहताले बताउनुभयो । त्यसैगरी, हालसम्म ६४८ जनाले सीमापास नवीकरण गरेका छन् । सीमापास वितरण भएपछि भोटखोलाका नागरिकलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु र रोजगारीका लागि सीमावर्ती नाका आवतजातवत गर्न सहज भएको छ । भोटखोला र मकालु गाउँपालिकाभित्र नागरिकले सीमापास र परिचयपत्रका आधारमा किमाथाङ्कानाका पारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् । भोटखोला गाउँपालिकाका–१, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन् । भोटखोला क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको अनुमान छ । भोटखेला क्षेत्रमा आलु र कोदोमात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए । उत्तरी क्षेत्रमा किमाथाङ्कामा २०३५ सालमा किमाथाङ्का भन्सार कार्यालय स्थापना भएको थियो । तर द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार २०५७ सालदेखि सदरमुकाम खाँदबारी रहेको छ । किमाथाङ्कानाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेर मात्र नाकामा पुग्न सकिन्छ । खाँदबारी–किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीदेखि किमाथाङ्काको दूरी १६२ किलोमिटर छ ।








प्रतिक्रिया