कपिलवस्तु — १७ बैशाख
बाणगंगा नगरपालिकाले आयुर्वेदिक स्वास्थ्य सेवामा उल्लेखनीय प्रगति हासिल गरेको तथ्यांक सार्वजनिक भएको छ। नगरकार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा उपलब्ध गराएको सेवाको विवरण अनुसार पछिल्ला तीन वर्षमा सेवा लिने बिरामीको संख्या तीव्र रूपमा वृद्धि हुँदै कुल २५ हजार १७० पुगेको छ, जुन २०७९/०८० को १२ हजार ५२९ को तुलनामा झण्डै दोब्बर हो।
तथ्यांक अनुसार ओपीडी बाट मात्र ९ हजार ४५६ जनाले सेवा लिएका छन्, जुन अघिल्लो वर्ष ७ हजार ४९१ थियो। यसले आयुर्वेद प्रति जनविश्वास र पहुँच दुवै बढिरहेको संकेत गर्छ। विशेषगरी जेष्ठ नागरिक सेवा २ हजार ९९३ पुगेको छ, जुन अघिल्लो वर्षको १ हजार २९३ भन्दा उल्लेख्य वृद्धि हो। यसले ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य सेवामा नगरपालिकाले प्राथमिकता दिएको देखिन्छ।
गाउँघर क्लिनिक कार्यक्रम पनि प्रभावकारी बन्दै गएको छ। २०७९/०८० मा ३ हजार ३१९ जनाले सेवा लिएकोमा २०८१/०८२ मा यो संख्या ७ हजार ९७४ पुगेको छ। यसले स्वास्थ्य सेवा घरदैलोमै पु¥याउने रणनीति सफल भइरहेको पुष्टि गर्छ। यस्तै, एकीकृत घुम्ती शिविर तथा विविध दिवसका अवसरमा सुगर, रक्तचाप, पिसाब परीक्षण जस्ता सेवा विस्तार हुँदा नयाँ बिरामीहरू सेवाको दायरामा आएका छन्।
यद्यपि केही सेवामा घट्दो प्रवृत्ति पनि देखिएको छ। स्तनपायी (मातृ–शिशु) सेवा र योग सेवामा अघिल्लो वर्षको तुलनामा सेवा लिने संख्या घटेको छ। यसले यी क्षेत्रमा थप जनचेतना, पहुँच विस्तार र कार्यक्रम पुनर्संरचनाको आवश्यकता रहेको संकेत गर्छ। पूर्वकर्म सेवामा पनि केही उतार चढाव देखिए तापनि समग्रमा सेवाको दायरा विस्तार हुँदै गएको छ।
नयाँ रूपमा सुरु गरिएको पाक्षिक आयुर्वेद चिकित्सक सेवा कार्यक्रमबाट मात्र १ हजार ३१५ जनाले सेवा लिएको तथ्यले जनशक्ति व्यवस्थापन र सेवा विविधीकरणमा नगरपालिकाले चालेका कदम प्रभावकारी देखिन्छन्।
समग्रमा, बाणगंगा नगरपालिकाले आयुर्वेद सेवा मार्फत आधारभूत स्वास्थ्य पहुँचलाई गाउँ स्तरसम्म विस्तार गर्दै गर्दा जनस्वास्थ्यमा सकारात्मक प्रभाव पारेको आफुहरुको विश्लेषण रहेको नगर प्रमुख चक्रपाणी अर्यालको तर्क रहेको छ । सेवाको परिमाणसँगै गुणस्तरमा निरन्तर सुधार, घट्दो सेवाहरूमा पुनःकेन्द्रित रणनीति र जनचेतनामूलक कार्यक्रमलाई सुदृढ बनाउँदै लैजाने हो भने आयुर्वेद क्षेत्रले स्थानीय स्वास्थ्य प्रणालीमा अझ मजबुत भूमिका खेल्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया