कपिलवस्तु, तौलिहवा १८ बैशाख
कपिलवस्तु नगरपालिका नगरकार्यपालिकाको कार्यालय, तौलिहवाले आ.व. २०८१/०८२ को समिक्षा गर्दै संघ, प्रदेश तथा अन्य निकायसँग सहकार्य र समन्वयको आवश्यकतालाई जोड दिएको छ। ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण नगरपालिकाको रूपमा परिचित कपिलवस्तुले समग्र विकासका लागि बहुआयामिक अपेक्षाहरू अघि सारेको हो।
समिक्षाका क्रममा नगरपालिकाले स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धिका लागि नियमित र प्रभावकारी क्षमता विकास तालिम आवश्यक रहेको औंल्याएको छ। दक्ष र प्रशिक्षित जनशक्ति अभावले सेवा प्रवाहमा प्रभाव पार्ने भएकाले दक्ष जनशक्तिको उपलब्धता सुनिश्चित गर्न संघ र प्रदेश सरकारको सक्रिय भूमिका आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
यसैगरी, तीन तहका सरकारबीच प्रभावकारी समन्वय र सञ्चार प्रणाली सुदृढ हुनुपर्नेमा जोड दिइएको छ। योजना निर्माणदेखि कार्यान्वयनसम्म स्पष्ट समन्वय नहुँदा दोहोरोपन, ढिलासुस्ती तथा स्रोतको अभाव हुने जोखिम रहेको औंल्याइएको छ। त्यसैले समन्वयलाई प्रणालीगत बनाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।
नगरपालिकाले स्थानीय आवश्यकता अनुसार ऐन–कानुन निर्माणमा सहयोग पनि अपरिहार्य रहेको उल्लेख गरेको छ। संघीय संरचना अनुसार स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आवश्यक कानुनी ढाँचा समयमै निर्माण र कार्यान्वयन हुनुपर्ने धारणा प्रस्तुत गरिएको छ।
विकासको आधारभूत पक्षका रूपमा ठूला पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राखिएको छ। सडक, खानेपानी, पर्यटन पूर्वाधार लगायतका दीर्घकालीन योजनामा संघ र प्रदेश सरकारको लगानी र सहकार्य अपरिहार्य रहेको नगरपालिकाको भनाइ छ। विशेषगरी बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थल तिलौराकोट तथा पर्यटकीय गन्तव्य जगदिशपुर तालको संरक्षण, प्रवद्र्धन र अन्तर्राष्ट्रिय स्तरमा पहिचान विस्तार गर्न ठोस पहल आवश्यक रहेको उल्लेख गरिएको छ।
त्यसैगरी, विकास योजनाको स्थायित्व र निरन्तरताका लागि प्रदेश अनुदानको निश्चितता हुनुपर्ने माग समेत उठाइएको छ। अनिश्चित अनुदान व्यवस्थाले योजना कार्यान्वयनमा चुनौती थप्ने भएकाले स्पष्ट नीति र दीर्घकालीन वित्तीय प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
समग्रमा, ऐतिहासिक र पुरानो नगरपालिका कपिलवस्तुले संघीय संरचनालाई प्रभावकारी बनाउन सहकार्य, समन्वय र स्रोत सुनिश्चितताको सशक्त सन्देश दिएको छ। नगरपालिकाले उठाएका यी अपेक्षाहरू सम्बोधन गर्न सकेमा मात्र स्थानीय विकासले दिगो गति लिने र क्षेत्रीय समृद्धिमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरिएको नगर प्रमुख सुदिप पौडेलको विश्वास रहेको छ।








प्रतिक्रिया