झापा, २१ वैशाख
मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ । राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ । मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज–२ मा आठमौजा छोटी भन्सार, मेचीनगर–२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर–४ मा बाहुनडाँगी छोटी भन्सार, मेचीनगर–५ मा नकलबन्दा छोटी भन्सार, मेचीनगर–७ मा सतिघट्टा छोटी भन्सार र गौरीगन्ज–१ मा महाभारा छोटी भन्सार स्थापना भएका थिए । हाल गौरीगन्ज–२ स्थित आठमौजाबाहेक अरु छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले बताउनुभयो । “आठमौजा छोटी भन्सारचाहिँ सञ्चालनमा छ, तर खासै भन्सार कारोबार हुनसकेको छैन”, उहाँले भन्नुभयो, “अरु नाकाबाट खासै व्यापार नभएका कारण छोटी भन्सार नचलेका हुन् ।” आयात र निर्यात कारोबार हुनका लागि भन्सार कार्यालयमात्र भएर पुग्दैन । क्वारेन्टाइनलगायतका कार्यालय पनि आवश्यक पर्दछ । छोटी भन्सारमा अन्य कुनै पनि सुविधा र सेवा उपलब्ध छैन । पूर्वी प्रवेशद्वार काँकरभिट्टामा मेची भन्सार कार्यालय छ । जहाँ सुक्खा बन्दरगाह, अध्यागमन कार्यालय, क्वारेन्टाइन कार्यालय र प्रविधियुक्त जाँच कक्षहरू रहेका छन् । मेचीनगर–४ मा रहेको बाहुनडाँगी छोटी भन्सार विगत आठ वर्षदेखि बन्द रहेको स्थानीय वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताउनुभयो । “के–कस्तो सहयोग आवश्यक पर्छ, हामी जनस्तरबाट दिन तयार छौँ”, छोटी भन्सार सञ्चालन गर्न आग्रह गर्दै वडाध्यक्ष कार्कीले भन्नुभयो, “विसं १९९० देखि चल्दै आएको नेपालकै पुरानोमध्येको सीमाबजार हो बाहुनडाँगी । ऐतिहासिक पृष्ठभूमि बोकेको यो भन्सारलाई बन्द गरिँदा हामीलाई दुःख लागेको छ ।” राणाकाल र पञ्चायतकालमा समेत सीमानाकाका रूपमा बाहुनडाँगीलाई मान्यता दिइएको स्मरण गर्दै उहाँले इलाम र झापाका मानिसहरू भारतको नक्सलबारी र कोलकातासम्म आवतजावत गर्ने यो पुरानो भन्सार भएको बताउनुभयो । उक्त छोटी भन्सारको आफ्नै १३ धुर जग्गामा पुरानो भवनसमेत रहेको छ । हाल भवनको रेखदेख र रङरोगन वडा कार्यालयले गरिरहेको जनाएको छ । आठ वटामध्ये सञ्चालनमा रहेको आठमौजा छोटी भन्सार काँकरभिट्टाको मूल भन्सारबाट ७५ किलोमिटर पश्चिम दक्षिणमा रहेको छ । यहाँको भारततिर फत्तेपुर बजार रहेको छ । नकलबन्दा, सतिघट्टा, महाभारा र गाडागल्ली छोटी भन्सारको जीर्ण अवस्थाको आफ्नै भवन छ । तर, सीमापारि भारतीय क्षेत्रमा ठूलो बजार छैन । सशस्त्र प्रहरीले यी सीमानाकामा सुरक्षा दिँदै आएको छ । —








प्रतिक्रिया