लुम्बिनी

८० प्रतिशत निर्माण सम्पन्न

युनाइटेड अस्पतालमा आईसीयू र अत्याधुनिक अपरेशन सेवा विस्तार हुँदै



कपिलवस्तु २४ बैशाख

युनाइटेड बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा सञ्चालित युनाइटेड अस्पतालले स्वास्थ्य सेवा विस्तारलाई तीव्रता दिएको छ । अस्पतालको नयाँ भवन निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भइसकेको जनाइएको छ । अस्पताल प्रशासनका अनुसार निर्माण सम्पन्न भएसँगै कपिलवस्तुमा पहिलो पटक आधुनिक आईसीयू, भेन्टिलेटर तथा अत्याधुनिक अपरेशन सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ ।
अस्पतालका प्रमुख कार्यकारी सुन्दर आचार्यका अनुसार अस्पतालमा आईसीयू सेवा सञ्चालन गर्ने लक्ष्यसहित निर्माण कार्यलाई युद्धस्तरमा अघि बढाइएको हो । निर्माणाधीन भवनमा तीनवटा अत्याधुनिक अपरेशन थियटर, सुविधा सम्पन्न भिआईपी क्याबिन तथा ६५ बेड क्षमताको नयाँ ब्लक निर्माण भइरहेको छ । साथै आईसीयू, भेन्टिलेटर र विशिष्ट उपचार सेवाका लागि आवश्यक संरचना पनि तयार पारिँदैछ ।


अस्पतालले विशेषज्ञ सेवा विस्तार मार्फत जिल्लामै जटिल उपचार सम्भव बनाउने लक्ष्य लिएको छ । विशेषगरी आईसीयू र आधुनिक अपरेशन सेवा सञ्चालनमा आएपछि बिरामीलाई उपचारका लागि बुटवल, भैरहवा वा काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । यसले उपचार खर्च, समय र बिरामीका परिवारले भोग्दै आएको मानसिक तथा आर्थिक भार समेत घटाउने विश्वास गरिएको छ ।


अस्पताल प्रशासनका अनुसार भवन निर्माणसँगै दक्ष जनशक्ति व्यवस्थापन, अत्याधुनिक उपकरण खरिद तथा सेवा सञ्चालनका पूर्वतयारी पनि समानान्तर रूपमा अघि बढाइएको छ । आगामी दिनमा मातृ तथा शिशु सेवा, आकस्मिक सेवा र जनस्वास्थ्य सम्बन्धी कार्यक्रमलाई समेत थप प्रभावकारी बनाइने योजना रहेको अस्पतालले जनाएको छ ।
सहकारीको लगानीमा स्वास्थ्य पूर्वाधार निर्माण हुनु आफैंमा समुदायमुखी विकासको सकारात्मक उदाहरणका रूपमा हेरिएको छ । निजी क्षेत्रको व्यावसायिक मोडल भन्दा फरक, सहकारी अवधारणाबाट सञ्चालित स्वास्थ्य संस्थाले नाफामुखीभन्दा सेवामुखी दृष्टिकोणलाई प्राथमिकता दिएको स्थानीयको भनाइ छ । स्थानीय बासिन्दाले सुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको युनाइटेड अस्पतालको सेवा विस्तारले कपिलवस्तुका साथै छिमेकी जिल्लाका नागरिकलाई समेत प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा सहकारी क्षेत्रबाट भइरहेको यस्तो लगानीलाई ग्रामीण स्वास्थ्य सेवाको महत्वपूर्ण आधारका रूपमा लिन थालिएको छ । समयमै निर्माण सम्पन्न गरी सेवा सञ्चालन गर्न सके युनाइटेड अस्पताल कपिलवस्तुको स्वास्थ्य क्षेत्रमा नयाँ भरोसाको केन्द्र बन्न सक्ने देखिन्छ ।

प्रकाशित : २४ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६