८ जेठ, काठमाडौं
काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाल कभर्डहलमा हुने च्याम्पियनसिपमा नेपालसहित सेन्ट्रल एसियाका ८ टोलीको सहभागिता छ ।
पहिलो दिन आज उद्घाटन समारोहसहित तीन खेल हुनेछ । जसमा घरेलु टोली नेपालले पहिलो खेलमै छिमेकी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यसअघि समूह बी मा रहेका इरान र बंगलादेशबीच बिहान ११ बजे पहिलो खेल सुरु हुनेछ । दिउँसो २ बजे उद्घाटन समारोह हुने नेपाल भलिबल संघले जनाएको छ । उद्घाटन समारोहपछि दिउँसो साढे ३ बजे समूह ए मा रहेका नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै दिनको तेस्रो खेल समूह ए कै दुई टोली किर्गिस्तान र माल्दिभ्सबीच साँझ ६ बजे सुरु हुनेछ ।
च्याम्पियनसिपमा समूह ए मा घरेलु टोली नेपाल र भारतसहित किर्गिस्तान र माल्दिभ्स छन् भने समूह बी मा इरान,काजाखस्तान, श्रीलंका र बंगलादेश छन् ।
च्याम्पियनसिपमा सुरुको चार दिन समूह चरणका खेलहरु हुनेछन् । हरेक दिन ३(३ खेल हुनेछ । समूह चरणको खेलपछि दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूहमा तेस्रो र चौथो स्थानमा रहने टोलीले क्लासिफिकेसन म्याच खेल्नेछ ।
समूह ए को विजेता र समूह बी को उपविजेताबीच पहिलो सेमिफाइनल तथा समूह बी को विजेता र समूह्य ए को उपविजेताबीच दोस्रो सेमिफाइनल हुनेछ । सेमिफाइनल विजेता टोलीले जेठ १५ गते उपाधिका लागि खेल्नेछन् ।
त्यसअघि समूह ए को तेस्रो र समूह बी को चौथो तथा समूह बी को तेस्रो र समूह ए को चौथो हुने टोलीबीच पनि खेल हुनेछ । यी दुवै खेलको विजेताबीच र पराजित हुने टोलीबीच पनि खेल हुनेछ ।
प्रतियोगितामा समूह चरणदेखि फाइनलसम्म कूल २० खेल हुनेछ ।
यस प्रतियोगिताको विजेता टोली एसिया कपमा छनोट हुने नेपाल भलिबल संघले जनाएको छ । पछिल्लो समय नेपालले काभाको विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै सेन्ट्रल एसियामा भलिबलको हब बन्दैछ ।
आज नेसनल भलिबल डे समेत हो । २०७४ सालमा नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेपछि नेपाल भलिबल संघले हरेक वर्ष जेठ ८ गते नेसनल भलिबल डे मनाउँदै आएको छ ।









प्रतिक्रिया