ब्रेकिंग न्युज

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त



महेन्द्रनगर, ३ कात्तिक

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी सेवासँगै फुर्सदको समय सदुपयोग गर्दै साइकलमा ड्रागन फ्रुट बिक्री गरेर स्वरोजगारको सन्देश प्रवाह गरिरहनुभएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत पन्तले सरकारी सेवामा ११ वर्ष बिताइसक्नुभएको छ । बितेका चार वर्षदेखि उहाँ महेन्द्रनगर बजारमा साइकलमा ड्रागन फ्रुट बिक्री गर्दै आउनुभएको छ। “बिहान एक–डेढ घण्टा र साँझ ५ बजेपछि ड्रागन फ्रुट बिक्री गर्न साइकल लिएर बजारका गल्लीगल्लीमा पुग्छु”, पन्तले भन्नुभयो, “व्यापार गर्न गएको दिन दैनिक रु एक हजारदेखि एक हजार दुई सयसम्म नाफा हुन्छ ।” उहाँले स्थानीय बजारका साथै दाङ, सुर्खेत, नेपालगञ्ज र डडेल्धुराबाट ड्रागन फ्रुट ल्याएर थोक तथा खुद्रा बिक्री गर्दै आउनुभएको छ । “बजारमा यसको माग पनि उच्च छ । कार्यालय समयबाहेकको फुर्सद सदुपयोग गर्न यो व्यापारमा लागेको हुँ”, उहाँले भन्नुभयो, “यो व्यापार सुरु गरेपछि तलब पनि बचत भएको छ । घरखर्च यसैबाट चलेको छ ।” पन्तले रोजगारीका लागि भारतलगायत अन्य मुलुक जाने युवा पनि घुम्ती व्यापारबाट प्रेरित हुनुपर्ने बताउनुभयो । विदेशमा जस्तोसुकै काम गर्न तयार हुने तर स्वदेशमा काम गर्न अप्ठ्यारो मान्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उहाँको जोड छ । “विदेशमा निम्नस्तरको काम गर्न पनि पछि नहट्ने तर स्वदेशमा काम गर्न अप्ठ्यारो मान्ने प्रवृत्ति अन्त्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “भारतमा मजदुरी गरिरहेका आफ्नै भाइ र बुहारीलाई पनि यही व्यापारमा लगाएको छु । बुहारीले पनि ड्रागन फ्रुट बेचेर मासिक रु ३० देखि ३५ हजारसम्म बचत गरेकी छन् । ” बजारको समस्या नरहेको बताउँदै उहाँले प्रतिकिलो रु ४५० देखि ५०० सम्ममा ड्रागन फ्रुट बिक्री गर्दै आएको जानकारी दिनुभयो । युवा वर्ग कृषि, व्यापारलगायत आयमूलक काममा लाग्नुपर्नेमा जोड दिँदै उहाँ सरकारीस्तरबाट पनि युवा स्वरोजगारलाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ ।

प्रकाशित : ४ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६