कपिलवस्तु, ९ जेठ
विपद्का घटना बढ्दो चुनौतीका रूपमा देखिइ रहेको वर्तमान अवस्थामा शुद्धोधन गाउँपालिकाले विपद् व्यवस्थापन तथा प्रतिकार्यका क्षेत्रमा संस्थागत तयारीलाई सुदृढ बनाउँदै विभिन्न पूर्व तयारीमूलक तथा प्रतिकार्य कार्यक्रम सञ्चालन गरेको तथ्यहरुले पुष्टी गरेको छ । गाउँपालिकाको गत आर्थिक वर्षको समीक्षात्मक प्रतिवेदन अनुसार कानुनी संरचना निर्माणदेखि कोष व्यवस्थापन र सामग्री खरिद सम्मका कार्यहरूलाई प्राथमिकता दिइएको देखिन्छ।
प्रतिवेदनले गाउँपालिकाले विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन पाँच वटा कार्यविधि निर्माण गरेको छ। विपद् व्यवस्थापनमा स्पष्ट कानुनी आधार तयार हुनु स्थानीय तहको दिगो र प्रभावकारी प्रतिकार्य प्रणाली विकास तर्फको महत्वपूर्ण कदम मानिन्छ। कार्यविधिहरूले विपद्का बेला जिम्मेवारी, समन्वय र राहत व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आर्थिक पक्षलाई हेर्दा गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष खातामा १७ लाख ८३ हजार ९ सय ७० रुपैयाँ मौज्दात रहेको छ। विपद् व्यवस्थापनका लागि छुट्टै कोष व्यवस्थापन हुनु आकस्मिक अवस्थामा तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका कार्यलाई गति दिन महत्वपूर्ण मानिन्छ। यसले विपद्का समयमा स्रोत अभावका कारण काम प्रभावित हुने अवस्थालाई कम गर्न सहयोग गर्ने जानकार बताउन्छन ।
गत आर्थिक वर्षमा गाउँपालिकाले प्रकोप व्यवस्थापन कार्यक्रम अन्तर्गत विभिन्न प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमहरू पनि सञ्चालन गरेको छ। शितलहरबाट प्रभावित नागरिकलाई कम्बल वितरण गरी राहत उपलब्ध गराइएको थियो भने आगलागीजन्य घटनाको जोखिम न्यूनीकरणका लागि फायर ट्याङ्कर खरिद गरिएको छ। त्यस्तै गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा प्रयोगका लागि फायर एक्स्टिङ्ग्यूसर खरिद तथा व्यवस्थापन गरिएको छ।
यी कार्यक्रमहरूले गाउँपालिकाले विपद् आएपछि मात्र प्रतिक्रिया दिनेभन्दा पनि पूर्वतयारी र जोखिम न्यूनीकरणमा ध्यान दिएको संकेत गर्छ। विशेषगरी ग्रामीण क्षेत्रमा आगलागी तथा प्राकृतिक विपद्का घटना हुने सम्भावना उच्च रहने भएकाले पूर्वतयारीका यस्ता कार्यक्रमलाई प्रभावकारी कार्यको रूपमा लिन सकिने सरोकारवालाको भनाइ छ ।
विज्ञहरूका अनुसार विपद् व्यवस्थापनमा कानुनी संरचना, पर्याप्त कोष र पूर्वतयारीका सामग्री व्यवस्थापनलाई सँगसँगै अघि बढाउन सके स्थानीय तहको प्रतिकार्य क्षमता अझ प्रभावकारी बन्नेछ। शुद्धोधन गाउँपालिकाले थालेका यी प्रयासलाई आगामी दिनमा थप दिगो र समुदायमैत्री बनाउने विषयमा आफुहरुको ध्यान जाने पालिका अध्यक्ष कमलेश शरण चौधरीको भनाई रहेको छ ।









प्रतिक्रिया