खोज–अनुसन्धान

शुद्धोधनमा सामाजिक सुरक्षा कार्यक्रमको पहुँच विस्तार

९० प्रतिशत बढीले गरे नवीकरण



कपिलवस्तु, २० जेठ ।

कपिलवस्तुको दक्षिणी क्षेत्रमा अवस्थित शुद्धोधन गाउँपालिकाले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लाभग्राहीको पहुँच विस्तार गरेको देखिएको छ। आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को सामाजिक सुरक्षा भत्ता वितरण तथा नवीकरण सम्बन्धी तथ्यांकले गाउँपालिकामा सामाजिक सुरक्षा कार्यक्रम प्रति नागरिकको विश्वास र सहभागिता उच्च रहेको तथ्यहरुले देखाएको छ ।
गाउँपालिकाको तथ्यांक अनुसार दुई आर्थिक वर्षको एउटा प्रथम त्रैमासिक अवधिलाई मात्र हेर्दा कुल ८ हजार २ सय १८ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता लिएका छन् । यस अवधिमा ६ सय ८० जना नयाँ लाभग्राही थपिएका छन् भने १ सय ८० जनाको लगत कट्टा भएको छ।
ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी लाभ
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने मध्ये ज्येष्ठ नागरिक (अन्य) समूह सबैभन्दा ठूलो लाभग्राही वर्गका रूपमा रहेको छ। यस शीर्षकमा २ हजार ३ सय ८६ जनालाई २ करोड ८० लाख ७५ हजार ३० रुपैयाँ वितरण गरिएको छ। त्रैमासिक रूपमा प्रतिव्यक्ति १२ हजार रुपैयाँ भत्ता उपलब्ध गराइँदै आएको छ।
त्यसैगरी ज्येष्ठ नागरिक दलित, ज्येष्ठ नागरिक एकल महिला र विधवा वर्गले प्रतिव्यक्ति ७ हजार ९ सय ८० रुपैयाँका दरले भत्ता प्राप्त गर्दै आएका छन्। यी समूहमा क्रमशः ३ सय ४४, १ सय ७८ र ४ सय ८२ जना लाभग्राही कायम रहेका छन्।
अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता
सामाजिक सुरक्षाअन्तर्गत पूर्ण अपाङ्गता (क वर्ग) भएका व्यक्तिलाई त्रैमासिक ११ हजार ९ सय ७० रुपैयाँ तथा अति अशक्त अपाङ्गता (ख वर्ग) भएका व्यक्तिलाई ६ हजार ३ सय ८४ रुपैयाँ प्रदान गरिँदै आएको छ। तथ्यांक अनुसार पूर्ण अपाङ्गता भएका ४६ जना र अति अशक्त अपाङ्गता भएका २ सय २५ जना लाभग्राहीले भत्ता प्राप्त गरेका छन्।
बालबालिका लक्षित कार्यक्रमको ठूलो दायरा
गाउँपालिकामा क्षेत्र तोकिएका बालबालिकालाई प्रतिव्यक्ति १ हजार ५ सय ९६ रुपैयाँका दरले भत्ता वितरण गरिँदै आएको छ। यस समूहमा ४ हजार ४४ जना लाभग्राही रहेका छन्, जुन कुल लाभग्राहीको करिब आधा हिस्सा हो। यस अवधिमा मात्रै ४ सय ८४ जना नयाँ बालबालिका सामाजिक सुरक्षा प्रणालीमा आबद्ध भएका छन्।
नवीकरण दर ९० प्रतिशतभन्दा माथि
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारिताको अर्को महत्वपूर्ण सूचक लाभग्राही नवीकरण दर हो। आर्थिक वर्ष २०८०÷८१ मा रहेका ८ हजार ५ सय ७४ जना लाभग्राहीमध्ये ७ हजार ७ सय १८ जनाले आर्थिक वर्ष २०८१÷८२ का लागि नवीकरण गरेका छन्, जसको औसत नवीकरण दर ९०.०२ प्रतिशत रहेको छ।
समूह मध्ये विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीको नवीकरण दर सबैभन्दा बढी ९६.६७ प्रतिशत रहेको छ। त्यस्तै ज्येष्ठ नागरिक दलित समूहमा ९५.७४ प्रतिशत, अति अशक्त अपाङ्गता समूहमा ९५.३० प्रतिशत र ज्येष्ठ नागरिक अन्य समूहमा ९४.५१ प्रतिशत नवीकरण भएको छ।
बालबालिका लक्षित कार्यक्रममा भने तुलनात्मक रूपमा नवीकरण दर कम देखिएको छ। क्षेत्र तोकिएका बालबालिकाको नवीकरण दर ८५.७९ प्रतिशत र लोपोन्मुख जातिको ८८.५२ प्रतिशत रहेको छ। यसले जन्मदर्ता, बसाइँसराइ, उमेर हद तथा अभिलेख अद्यावधिक जस्ता कारणले बालबालिका समूहमा नवीकरण कम भएको हुनसक्ने संकेत गर्दछ।
तथ्यांकले शुद्धोधन गाउँपालिकाले सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र अद्यावधिक बनाउन निरन्तर काम गरिरहेको देखाउँछ। नयाँ लाभग्राही थप गर्ने, नभएकाहरुको लगत कट्टा गर्ने तथा नवीकरण प्रक्रियालाई प्रभावकारी बनाउने कार्यले सामाजिक सुरक्षा प्रणालीलाई थप विश्वसनीय बनाएको छ।
विशेषगरी मधेश मूलका समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा सामाजिक सुरक्षा कार्यक्रमले ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा लोपोन्मुख समुदायको आर्थिक सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
सामाजिक सुरक्षा भत्ता राज्यले नागरिकको सम्मानपूर्ण जीवनयापन सुनिश्चित गर्न उपलब्ध गराएको महत्वपूर्ण सामाजिक अधिकार हो। पात्र नागरिकले समयमै नवीकरण गरी सेवा निरन्तरता दिनु आवश्यक छ भने स्थानीय तहले पनि लाभग्राही पहिचान, अभिलेख व्यवस्थापन र पारदर्शी वितरण प्रणालीलाई अझ सुदृढ बनाउँदै लैजानु आवश्यक देखिन्छ। सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनले सामाजिक न्याय, समावेशी विकास र नागरिकको जीवनस्तर उकास्न थप योगदान पु¥याउने विश्वास लिएको बताउनुहुन्छ गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी ।

प्रकाशित : २० जेष्ठ २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६