कपिलवस्तु, २१ जेठ।
कपिलवस्तु जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा अवस्थित यशोधरा गाउँपालिकाले सीमित आन्तरिक स्रोत, मधेश मूलका समुदायको बाहुल्यता तथा भारतसँग जोडिएको भौगोलिक अवस्थाबीच पनि विकास निर्माण र सेवा प्रवाहमा उल्लेखनीय प्रगति हासिल गरेको तथ्यहरुले पुष्टी गरेको छ।
गत आर्थिक वर्षका तथ्यहरुलाई हेर्दा गाउँपालिकाले पूर्वाधार, कृषि, खानेपानी, सरसफाइ, शिक्षा तथा रोजगारका क्षेत्रमा देखाएको प्रगति स्थानीय सरकारको प्रभावकारिता र विकास प्रतिको प्रतिबद्धताको उदाहरण बनेको छ।
गाउँपालिकाको वार्षिक प्रगति विवरण अनुसार सडक पूर्वाधार विस्तारमा उल्लेखनीय उपलब्धि हासिल भएको छ। आर्थिक वर्ष २०८०/८१ सम्म ४.७८ किलोमिटर कालोपत्रे सडक रहेकोमा गत आवमा थप ०.७६४ किलोमिटर निर्माण भएसँगै कुल कालोपत्रे सडक ५.५४७ किलोमिटर पुगेको छ। यस्तै खण्डास्मित, पीसीसी तथा आरसीसी ढलान सडक १०.६३ किलोमिटरबाट बढेर १४.८५८ किलोमिटर पुगेको छ भने ग्राभेल सडकको लम्बाइ १३.७६ किलोमिटरबाट बढेर २५.१६ किलोमिटर पुगेको छ।
यसले ग्रामीण बस्तीहरूलाई यातायात पहुँचसँग जोड्दै शिक्षा, स्वास्थ्य, कृषि उत्पादनको बजार पहुँच तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। सीमावर्ती क्षेत्रका नागरिकलाई सहज आवतजावत र सेवा पहुँच विस्तारमा सडक पूर्वाधारले महत्वपूर्ण योगदान पु¥याएको देखिन्छ।

गाउँपालिका अध्यक्ष शिव दयाल तिवारी
कृषि क्षेत्रतर्फ पनि गाउँपालिकाले सिंचाइ पहुँच विस्तारमा ध्यान दिएको छ। सिंचाइ सुविधा पुगेको जमिनको क्षेत्रफल १ हजार ९१० हेक्टरबाट बढेर १ हजार ९७० हेक्टर पुगेको छ। कृषि नै मुख्य पेशा रहेको यस क्षेत्रमा सिंचाइ सुविधाको विस्तारले उत्पादन वृद्धि, खाद्य सुरक्षा तथा किसानको आम्दानी बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
उद्योग तथा उद्यमशीलता विकासतर्फ स्थानीय तहमा दर्ता तथा सूचीकृत उद्योग–फर्मको संख्या १६४ बाट बढेर १७३ पुगेको छ। संख्या धेरै ठूलो नभए पनि सीमित आर्थिक आधार भएको गाउँपालिकामा उद्यम दर्तामा भएको वृद्धि स्थानीय स्तरमा आर्थिक गतिविधि विस्तार हुँदै गएको संकेत हो।
खानेपानी सेवामा पनि सुधार देखिएको छ। आधारभूत तहको खानेपानी सुविधा पुगेका घरधुरीको प्रतिशत ९५ बाट बढेर ९६ पुगेको छ। यद्यपि सरसफाइको क्षेत्रमा अझै चुनौती कायम देखिन्छ। सरसफाइ सुविधा पुगेका घरधुरीको प्रतिशत १५ बाट बढेर २० प्रतिशत पुगे पनि यस क्षेत्रमा अझ व्यापक लगानी र जनचेतनाको आवश्यकता देखिन्छ।
शिक्षा क्षेत्रमा भने मिश्रित अवस्था देखिएको छ। सामुदायिक विद्यालयको माध्यमिक तहमा भर्ना हुन योग्य हुनेगरी एसईई उत्तीर्ण दर ६१.९ प्रतिशतबाट घटेर ४२.३१ प्रतिशतमा सीमित भएको तथ्यांकले शैक्षिक गुणस्तर सुधारमा थप प्रयास आवश्यक रहेको पुष्टी गर्छ। पूर्वाधार र सेवा विस्तारसँगै शैक्षिक उपलब्धि बढाउनेतर्फ गाउँपालिकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।
रोजगारी व्यवस्थापनमा गाउँपालिकाको रोजगार सूचना केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ। केन्द्रमा सूचीकृत बेरोजगारको संख्या २ हजार १६१ बाट बढेर २ हजार ६९८ पुगेको छ। चालु आवमा मात्रै ५३७ जना नयाँ बेरोजगार सूचीकृत भएका छन्। यसले एकातिर रोजगारी खोज्ने युवाको संख्या बढ्दो रहेको देखाए पनि अर्कोतर्फ रोजगार सूचना प्रणालीप्रति नागरिकको पहुँच र विश्वास बढेको बुझ्न सकिन्छ ।
यशोधरा गाउँपालिकाको पछिल्लो प्रगति हेर्दा सीमित स्रोत–साधन र चुनौतीपूर्ण भौगोलिक अवस्थाबीच पनि स्थानीय सरकारले विकासका आधारभूत सूचकहरूमा सुधार ल्याउन सकेको देखिन्छ। सडक, कृषि, खानेपानी तथा उद्यमशीलता क्षेत्रमा देखिएको प्रगति उत्साहजनक छ। तर शिक्षा र सरसफाइजस्ता मानव विकाससँग प्रत्यक्ष जोडिएका क्षेत्रमा अझै गम्भीर प्रयास आवश्यक रहेको यशोधरा गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीको भनाइ रहेको छ ।
सीमावर्ती तथा स्रोत अभावग्रस्त स्थानीय तहले समेत योजनाबद्ध नेतृत्व, नागरिक सहभागिता र विकासप्रतिको प्रतिबद्धताका माध्यमबाट परिवर्तन सम्भव छ भन्ने सन्देश यशोधरा गाउँपालिकाको उपलब्धिले दिएको छ। विकासको यात्रामा प्राप्त सफलतालाई संस्थागत गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ र रोजगारीका क्षेत्रमा थप परिणाममुखी कार्यक्रम सञ्चालन गर्न सके गाउँपालिकाले दिगो र समावेशी विकासको लक्ष्य हासिल गर्न महत्वपूर्ण फड्को मार्ने अपेक्षा गर्न सकिन्छ।









प्रतिक्रिया