देश

सिरदली–चौडेनी सडक स्तरोन्नति



भोजपुर, २४ जेठः

टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ । बस्ती क्षेत्रलाई आपसमा जोड्ने मुख्य सडकका रूपमा रहेको यस सडक ग्रामीण जनजीवनका लागि महत्त्वपूर्ण मानिन्छ । वडाले हरेक वर्ष सडक मर्मत तथा स्तरोन्नतिका कार्यलाई प्राथमिकतामा राख्दै आएको छ । करिब नौ किलोमिटर लम्बाइ रहेको उक्त सडकको विस्तारकार्य २०६५ सालदेखि कच्ची सडकका रूपमा सुरु गरिएको थियो । प्रारम्भिक चरणमा सामान्य ट्रयाक खोलिएको सडकलाई पछिल्ला वर्षहरूमा क्रमशः स्तरोन्नति गर्दै ग्राभेल, सोलिङ, नाली निर्माण तथा चौडाइ विस्तारजस्ता कार्य गरिँदै आएको छ । यसले गर्दा अहिले सडक अधिकांश समय सवारीसाधन सञ्चालनयोग्य बनेको छ । उक्त सडकले साविकका वडा नं १ देखि ६ सम्मका बस्तीलाई प्रत्यक्ष रूपमा जोडेको छ । वडासदस्य जीवन राईका अनुसार सडक स्तरोन्नतिपछि गाउँबस्तीका नागरिकले बजार, स्वास्थ्य संस्था, विद्यालय तथा अन्य सेवामा सहज पहुँच पाएका छन् । “सडक स्तरोन्नति गरिएपछि आवतजावतमा सहजता छ । यसले दैनिक जीवनमा राहत मिलेको छ”, उहाँले भन्नुभयो । वडाध्यक्ष बालचन्द्र राईका अनुसार सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने उद्देश्यले योजनाबद्ध रूपमा काम भइरहेको छ । वर्षायाममा सडक बिग्रिने समस्या बढी हुने भएकाले नाली व्यवस्थापन, पानी निकास, ग्राभेल बिछ्याउने र आवश्यक ठाउँमा सोलिङ गर्ने काम निरन्तर भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यकताअनुसार सडकका जोखिमयुक्त स्थानमा संरक्षणका संरचना निर्माण गर्ने योजनासमेत अघि बढाइएको छ । यसअघि वर्षायाममा हिलाम्मे र चिप्लो हुने तथा हिउँद याममा धुलाम्मे हुने समस्याका कारण आवतजावतमा कठिनाइ हुने गरेको थियो । तर पछिल्लो स्तरोन्नतिसँगै यस्ता समस्या क्रमशः घट्दै गएका छन् । सडक सुधारपछि एम्बुलेन्स सेवा सञ्चालनमा सहजतासँगै बिरामीलाई समयमै स्वास्थ्य संस्था पुर्याउन सकिने भएको स्थानीयवासी पदम राईले बताउनुभयो । त्यसैगरी, कृषि उत्पादन ढुवानीमा समेत सहजता आएको छ । तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तु बजारसम्म लैजान सहज भएपछि किसानको आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ । यातायात पहुँच सुधारसँगै स्थानीय व्यापार–व्यवसाय विस्तार हुने सम्भावना पनि बढेको छ । स्थानीय तहको निरन्तर लगानी, जनसहभागिता तथा योजना कार्यान्वयनमा देखिएको सक्रियताका कारण सडक पूर्वाधारमा सुधार हुँदै गएको छ । वडाले आगामी दिनमा थप बजेट व्यवस्थापन गरी सडकलाई अझ व्यवस्थित, सुरक्षित र दिगो बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित : २४ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६