खोज–अनुसन्धान

‘ब्यारेक जस्तै घर’



राँझा (बाँके), २५ जेठः

बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको । यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ । शिख समुदायको यो सिंह परिवारमा हुने जमघटमा त अवस्था झनै हेर्न लायक हुन्छ । त्यहाँ उपस्थित अधिकांशको काँधमा राष्ट्रसेवक सुरक्षाकर्मीको पहिचानसहितको बर्दी देख्दा घर होइन, ब्यारेकजस्तै अनुभूति हुने गरेको छ । सिंहको परिवारमा तीन पुस्तादेखि सुरक्षाकर्मी बन्ने परम्परा चल्दै आएको छ । घरका सदस्यहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आबद्ध हुँदै देशको शान्ति, सुरक्षा र सीमाको रक्षामा समर्पित छन् । हिसाब गर्दा परिवारका करिब एक दर्जन सदस्य सुरक्षाकर्मीका रूपमा राष्ट्रसेवामा जोडिएका छन् । हालै सशस्त्र प्रहरी बलको प्रहरी नायब निरीक्षक पदबाट अवकाश लिनुभएका सिंहका अनुसार परिवारमा सुरक्षासेवाको यात्रा उहाँका बुबा जबर सिंहबाट सुरु भएको थियो । नेपाल प्रहरीमा कार्यरत बुबा जबरसिंहले स्थापित गरेको त्यही देशप्रेमको प्रेरणाबाट सुरेन्द्र स्वयं सशस्त्र प्रहरीमा आबद्ध हुनुभयो । हाल उहाँका छोरा अङ्कित सिंह नेपाल प्रहरीमा कार्यरत रहेर हजुरबुबा र बुबाको पदचाप पछ्याइरहनुभएको छ । “सुरक्षा निकायमा रहेका परिवारका सदस्यको सङ्ख्या करिब एक दर्जन पुग्छ । त्यसैले हाम्रो त घर नै ब्यारेकजस्तै छ”, सुरेन्द्र मुस्कुराउँदै भन्नुहुन्छ, “देशको सेवा गर्न पाएकामा गर्व लागेको छ । बुबाको पालादेखि नातिसम्म राष्ट्रसेवाको परम्परा फैलिएको देख्दा झनै गर्व महसुस हुन्छ ।” यही परिवारका काका शरण सिंहले नेपाल प्रहरीमा लामो समय सेवा गर्नुभयो । परिवारकै विनोद, दीपक, बलदेव र नारायण सिंह हाल सशस्त्र प्रहरी बलमा कार्यरत हुनुहुन्छ । नातामा भाइ पर्ने शङ्कर सिंह सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षक पदबाट अवकाशप्राप्त भइसक्नुभयो । सिंह परिवारको इतिहास केवल जागिरमा सीमित छैन । यो परिवारले देशका लागि रगत र प्राणको आहुति पनि दिएको छ । द्वन्द्वकालमा प्रहरी निरीक्षक पदमा कार्यरत कन्हैया सिंहले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गर्नुभएको थियो । परिवारका लागि त्यो पीडादायी क्षण भए पनि उहाँको बलिदानले राष्ट्रसेवाप्रतिको प्रतिबद्धतालाई अझ दृढ बनाएको परिवारजन बताउँछन् । अवकाशपछि पनि देशप्रतिको दायित्व समाप्त नहुने सुरेन्द्र सिंहको विश्वास छ । “बर्दी फुकाले पनि देशप्रेम त बाँकी नै हुन्छ नि”, उहाँ भन्नुहुन्छ, “हिजो सुरक्षाकर्मीका रूपमा र अब सामाजिक कार्यमार्फत देश र समाजको सेवामा निरन्तर लागिरहनेछु ।” नेपालगन्ज–१५ का वडाध्यक्ष मदनविक्रम शाहले जमुनाहको सिंह परिवार राष्ट्रसेवा, त्याग र समर्पणको उदाहरण बनेको बताउनुभयो । एउटै आँगनबाट देशको सुरक्षा र शान्तिका लागि समर्पित यति धेरै सदस्य जन्मिनु आफैँमा गौरवको विषय भएको उहाँको भनाइ छ । —

Powered By  Orson Infotech

प्रकाशित : २५ जेष्ठ २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६