लक्ष्मण प्रसाद बेल्बासे
कपिलवस्तु, २६ जेठ
कपिलवस्तुको बाणगंगा नगरपालिका पछिल्लो समय सुशासन, डिजिटल सेवा प्रवाह, कृषि विकास, सामाजिक उत्तरदायित्व र संस्थागत सुदृढीकरणका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू मार्फत देशकै उत्कृष्ट स्थानीय तहहरू मध्ये एकका रूपमा स्थापित हुँदै गएको छ। पहाडी समुदाय, आदिवासी थारु समुदाय तथा विभिन्न जिल्लाबाट बसाइँसराइ गरी आएका नागरिकहरूको साझा थलो बनेको बाणगंगाले विकास र सुशासनलाई सँगसँगै अघि बढाएको देखिन्छ।
नगरपालिकाले गत आर्थिक वर्षमा गरेका कार्यहरू हेर्दा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, पारदर्शिता अभिवृद्धि गर्ने र नागरिकलाई सहज सेवा उपलब्ध गराउने दिशामा उल्लेखनीय प्रगति हासिल गरेको छ।
डिजिटल रूपान्तरणमा फड्को
नगरका सबै वडामा डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याइएको छ भने कर तथा शुल्क संकलन पूर्णरूपमा सफ्टवेयरमार्फत भइरहेको छ। सूचना माग गर्ने नागरिकलाई समयमै सूचना उपलब्ध गराउने तथा सार्वजनिक निकायले प्रकाशन गर्नुपर्ने विवरणहरू त्रैमासिक रूपमा सार्वजनिक गर्ने अभ्यासले पारदर्शिता प्रवद्र्धन गरेको छ।
नगरपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, अस्पताल तथा ४७ वटै सामुदायिक विद्यालयमा ई–हाजिरी प्रणाली जडान गरिएको छ। सामाजिक सुरक्षा परिचयपत्र तथा अपाङ्गता परिचयपत्रलाई कम्प्युटर अभिलेख प्रणालीमा राखी आधुनिक प्रविधिबाट व्यवस्थापन गरिएको छ।
नेपाल सरकारद्वारा विकसित अनलाइन नागरिकता सिफारिस प्रणालीमार्फत सेवा सुरु हुनु स्थानीय सरकारको डिजिटल शासनतर्फको अर्को महत्वपूर्ण कदम मानिएको छ।
सुशासनमा अब्बल
बाणगंगा नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (ीक्ष्क्ब्) मा ९४.७५ प्रतिशत अंक प्राप्त गरी उत्कृष्ट प्रशासनिक क्षमता प्रदर्शन गरेको छ। यस्तै वित्तीय सुशासन जोखिम मूल्यांकनमा ९३ अंक हासिल गर्नु नगरको वित्तीय अनुशासन र पारदर्शिताको प्रमाण बनेको छ।
खरिद प्रक्रियालाई पूर्णरूपमा ई–बिडिङमार्फत सञ्चालन गरिनु, सबै भुक्तानी भ्ँत् प्रणालीबाट गरिनु तथा नियमित स्टाफ मिटिङमार्फत कार्यप्रगति समीक्षा गरिनुले संस्थागत सुशासनलाई बलियो बनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्ने अभ्यास र जे.सी. अडिट सम्पन्न हुनु पनि सुशासन प्रतिको प्रतिबद्धताको सूचक हो।
छाडा चौपाया व्यवस्थापनमा अन्तरनगर साझेदारी
कृषकका लागि लामो समयदेखि चुनौती बनेको छाडा चौपाया व्यवस्थापनमा बाणगंगाले दीर्घकालीन समाधान खोज्ने प्रयास गरेको छ। विभिन्न गौशालाको स्तरोन्नति गर्दै छाडा पशु व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ।
यस अभियानलाई थप सुदृढ बनाउन कपिलवस्तु नगरपालिका र सिद्धार्थनगर नगरपालिकासँग लागत साझेदारी सम्झौता गरी अन्तरनगर सहकार्यको उदाहरण प्रस्तुत गरिएको छ। यसबाट कृषकलाई हुने क्षति क्रमशः घट्दै गएको नगरपालिकाको दाबी छ।
सेवा नागरिकको घरदैलोमा
लामो समयको प्रयासपछि मालपोत र नापी कार्यालय नगरभित्रै सञ्चालनमा आउनु बाणगंगावासीका लागि ऐतिहासिक उपलब्धि बनेको छ। यसले सेवाग्राहीलाई जिल्ला बाहिर वा टाढा धाउनुपर्ने बाध्यता अन्त्य गरेको छ।
त्यस्तै नगर प्रहरीको संख्या थप गरी नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण र छाडा पशु व्यवस्थापनमा प्रभावकारीता बढाइएको छ।
खानेपानी र सरसफाइमा उल्लेखनीय उपलब्धि
नगरका ९९.९९ प्रतिशत घरधुरी आधारभूत खानेपानी सेवाबाट लाभान्वित भएका छन्। अझ सुरक्षित खानेपानी पहुँच विस्तार गर्न पाँच स्थानमा ओभरहेड ट्यांकी निर्माण प्रक्रिया अघि बढाइएको छ। यस्तै ९८.४२ प्रतिशत घरधुरीमा शौचालयको समुचित प्रयोग भइरहेको तथ्यांकले बाणगंगालाई सरसफाइ अभियानमा अग्रणी स्थानीय तहका रूपमा चिनाएको छ।
वडा नं. २ पूर्ण सरसफाइयुक्त तथा पूर्ण पोषणमैत्री वडा घोषणा भएको छ। यसअघि वडा नं. ५ र ८ समेत घोषणा भइसकेका छन् भने अन्य वडाहरू पनि घोषणा उन्मुख छन्।
सामाजिक उत्तरदायित्व र मानवीय अभियान
नगरपालिका परिसरमा कपडा बैंक सञ्चालनमा ल्याइएको छ, जसले विपन्न तथा आवश्यकतामा रहेका नागरिकलाई सहयोग पु¥याउने अपेक्षा गरिएको छ। विपन्न घरधुरीमा धारा जडान तथा अति विपन्न परिवारलाई शौचालय निर्माण अनुदान प्रदान गर्ने कार्यक्रम निरन्तर सञ्चालनमा छ।
कृषि, सहकारी र आत्मनिर्भरताको आधार
बाणगंगालाई दूधमा आत्मनिर्भर नगरपालिका घोषणा गरिएको छ। कृषि क्षेत्रलाई प्रवद्र्धन गर्दै उत्कृष्ट कृषि सहकारीलाई सम्मान गर्ने अभ्यासले कृषकलाई प्रोत्साहन गरेको छ।
नगरभित्र रहेका सहकारी र खानेपानी संस्थाहरूको अनुगमन गरी निष्कर्षसहित प्रतिवेदन तयार गरिनुले संस्थागत उत्तरदायित्व बढाएको छ।
खाद्य सुरक्षाको दृष्टिले पनि नगरपालिका सुदृढ अवस्थामा रहेको छ। नगरमा खाद्य असुरक्षाको दर केवल ०.४५ प्रतिशत रहेको तथ्यांकले अधिकांश नागरिक खाद्य सुरक्षाको दायराभित्र रहेको देखाउँछ।
शिक्षा, पर्यटन र खेलकुदमा नयाँ आयाम
देशकै उत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई सम्मान गरिएको छ। नगर शिक्षा योजना स्वीकृत भई कार्यान्वयनको चरणमा पुगेको छ भने नगर एटलस निर्माण गरी वितरण गरिएको छ। बाणगंगा पर्यटन गुरुयोजना निर्माण सम्पन्न भई स्वीकृतिको प्रक्रियामा रहेको छ। यसले नगरको पर्यटन सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ।
मेयर कप फुटबल तथा उपमेयर कप भलिबल प्रतियोगिता नियमित सञ्चालन गरी खेलकुद संस्कृतिलाई प्रोत्साहन गरिएको छ।
भविष्यतर्फ उन्मुख योजना
स्थानीय विपद् उत्थानशील योजना कार्यान्वयनमा आएको छ भने भू–उपयोग योजना पनि लागू गरिएको छ। नगरको मुख्य प्रशासनिक भवनको स्तरोन्नति, हल निर्माण तथा मर्मत कार्य जारी छ।
फोहर प्रशोधन केन्द्र निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया अगाडि बढाइएको छ। जग्गा प्राप्त भएपछि आधुनिक फोहर व्यवस्थापन प्रणाली स्थापना गर्ने नगरपालिकाको योजना रहेको जनाएको छ।
साथै, नगरको आधिकारिक लोगो प्रयोगमा ल्याइएको छ भने नगरगान छनोट प्रक्रिया पनि अगाडि बढिरहेको छ, जसले बाणगंगाको संस्थागत पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
डिजिटल सुशासन, पारदर्शी प्रशासन, कृषि आत्मनिर्भरता, सामाजिक उत्तरदायित्व र पूर्वाधार विकासलाई सन्तुलित रूपमा अघि बढाउँदै बाणगंगा नगरपालिका स्थानीय सरकार कसरी नागरिकमैत्री र परिणाममुखी बन्न सक्छ भन्ने सफल उदाहरणका रूपमा उदाएको छ। उपलब्धिहरूलाई संस्थागत गर्दै बाँकी चुनौती समाधान गर्न सके बाणगंगा निकट भविष्यमा नेपालकै नमुना नगरपालिकाका रूपमा अझ मजबुत रूपमा स्थापित हुने देखिन्छ।









प्रतिक्रिया