कृषि

घाँस आम्दानीको राम्रो स्रोत   




   
(दाङ), २८ जेठ : दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका छन् ।    

 घाँस छरेपछि गोडमेल र अन्य काम गर्न नपर्ने भएकाले किसानहरु घाँसखेतीमा आर्कषित भएका हुन् । देउखुरीमा १८० घरपरिवारले घाँसखेती गर्ने गरेको शिवशक्ति घाँस बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले बताउनुभयो ।    

जोत्न, मल हाल्नु नपर्ने तथा लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउनुहुन्छ । घोराही–६ मा विसं २०५६ देखि नै व्यावसायिक रूपमा घाँसखेती सुरु भएको थियो । घोराही उपमहानगरपालिका–६ गुरुवागाँउका श्याम चौधरीले १५ कट्ठा जमिनमा वरर्सिम घाँसखेती गर्नुभएको छ ।    

वर्सिम घाँसले गाईवस्तु पाल्न सजिलो भएको उहाँ बताउनुहुन्छ । हरियो हुँदा घाँस काटेर गाईवस्तुलाई खुवाउने र दानालाई बीउका रुपमा बेच्दा दोहोरो आम्दानी हुन थालेपछि श्याम चौधरी घाँसखेतीतर्फ आर्कषित भएका हुन् ।    

 पहिले तोरी, गहुँ र मसुरोखेती गर्ने उक्त जग्गामा अहिले वरर्सिम घाँस लगाउन सुरु गरिएको छ । गतवर्ष रु ७५ हजारको वर्सिम घाँस बेचेका श्यामले यसवर्ष रु एक लाख १८ हजारको वरर्सिमको दाना बिक्री गरेका छन् । घोराही–६ का सुशीला बुढामगरले ११ कट्ठा खेतमा वर्सिम घाँसखेती गर्नुभएको छ ।    

 घाँस छरेपछि गोडमेल र स्याहार्ने झन्झट नभएकाले घाँसखेतीमा आकर्षण भएको उहाँले बताउनुभयो । गाईभैँसी, भेडा, बाख्रा र कुखुरालाई यस घाँसले फाइदा पु¥याँउछ । उहाँले घाँसको दाना बिक्री गरेर रु एक लाख ६० हजार आम्दानी भएको बताउनुभयो ।    

 सोही वडाकी भूमिसरा पुनले एक बिघा खेतमा वर्सिम घाँसखेती गर्नुभएको छ । पुनले रु दुई लाखको वरर्सिम घाँसको बीउ बिक्री गरेको बताउनुभयो । धानभन्दा धेरै आम्दानी भयो । त्यसैले घाँसखेती गरेकी छु भन्नुभयो । धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर छर्ने गरेका छन् । घोराही–६ का कृषकले ११ कट्ठादेखि दुई बिघासम्ममा वर्सिम घाँसखेती गरेको पाइन्छ । घाँसको उत्पादन राम्रो भएपछि घाँसको बीउको लागि देउखुरीको गुरुवागाँउलाई पकेट क्षेत्र घोषणा गरी बीउ उत्पादन गरिँदै आएको छ । वर्सिम घाँसलाई घाँसको राजाका रुपमा लिने गरिन्छ । यो घाँस गाईभैँसी, बाख्रा, कुखुराले राम्रो मानेर खाने गर्छन् ।    

 जिल्लामा गाईभैँसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि आर्थिक आयका लागि किसानहरूले घाँस मात्रै खेती गर्ने गरेको घोराही उपमहानगरपालिका कृषि शाखा प्रमुख खीमबहादुर बस्नेतले बताउनुभयो । पछिल्लो समय दाङ घाँसको बीउ पकेटको क्षेत्रका रुपमा विकसित हुँदै गएको छ ।    

प्रकाशित : २८ जेष्ठ २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६