काठमाडौँ, २८ जेठ ः मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले तापक्रम ह्वात्तै घटेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशमा सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२.६ र धनगढीमा ३२.३ डिग्री रहेको छ । तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ ।अन्य जिलामा त्यो भन्दा कम नै तापक्रम रहेको छ । तीन दिनअघि केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम आज घटेको हो ।यसैबीच आज पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा भारी वर्षा भएको छ । विभागका अनुसार धनुषा, महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासीपूर्व, तनहुँलगायत जिल्लाका केही मापन केन्द्रमा भारी वर्षा मापन भएको छ ।विभागको मौसम पूर्वानुमान महाशाखाचले आज साँझ जारी गरेको बुलेटिनअनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।विभागका सूचना अधिकारी दिनकर कार्यस्थका अनुसार जेठ २९ गते शुक्रबार कोशी, मधेस र बागमती प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ ।कोशी र मधेस प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती, सोही कारण गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ ।
२९ जेष्ठ २०८३, शुक्रबार









प्रतिक्रिया