काठमाडौँ, ३० जेठ
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवद्र्धनबिनाको समृद्धि अपूरो हुने बताउनुभएको छ । गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उहाँले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्कसँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकास पनि समानान्तर रूपमा आवश्यक रहेको बताउनुभयो । “कला र साहित्य राष्ट्रको बल र पहिचान हो,” मन्त्री तिमिल्सिनाले भन्नुभयो, “भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन । साहित्यलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा सरकारले गम्भीरपूर्वक सोच्ने बेला आएको छ ।” उहाँले पछिल्लो समय सामाजिक सञ्जाल साहित्यिक अभिव्यक्तिको महत्त्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै बदलिँदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताउनुभयो । साहित्य क्षेत्रको दीर्घकालीन विकासका लागि नतिजामुखी र दिगो प्रभाव पार्ने नीतिगत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । सञ्चारमन्त्री तिमिल्सिनाले राजनीतिक क्षेत्रले साहित्य र कलाको महत्त्वलाई अपेक्षित प्राथमिकता दिन नसकेको धारणा व्यक्त गर्नुभयो । समाजलाई बुझ्न, मानव संवेदनालाई पहिचान गर्न र जीवनका विविध पक्षलाई विश्लेषण गर्न साहित्यले महत्त्वपूर्ण सहयोग गर्ने उल्लेख गर्दै उहाँले साहित्यिक चेत र अध्ययनले अन्य क्षेत्रमा काम गर्दा पनि निरन्तर सहयोग पु¥याएको अनुभव सुनाउनुभयो । उहाँले लामो इतिहास बोकेका सरकारी तथा सार्वजनिक सञ्चार संस्था तथा साहित्यिक र सांस्कृतिक संस्थाहरू आर्थिक रूपमा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संस्थालाई नयाँ जीवन दिनु र आर्थिक रूपमा सबल बनाउनु आवश्यक रहेको बताउनुभयो । “हाम्रो इतिहासको पुनर्जागरण गर्ने बेला आएको छ,” उहाँले भन्नुभयो । समस्यामा परेका सरकारी संस्थाले सरकारबाट अतिरिक्त बजेट र सहयोगको अपेक्षा मात्र गरेर सबल हुन नसक्ने स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले संस्थागत कार्यशैली, व्यवस्थापन क्षमता र उत्तरदायित्वमा पनि सुधार आवश्यक रहेको बताउनुभयो । “सरकार व्यवस्थापक मात्रै हो, सरकारसँग भएको रकम पनि जनताकै रकम हो,” उहाँले भन्नुभयो, “त्यसैले जनताको पैसा सही तरिकाले प्रयोग हुनुपर्छ । आर्थिक पक्षको कुरा मात्रै गरेर हुँदैन, कार्यशैलीमा पनि व्यापक सुधार आवश्यक छ ।” विगतमा संस्थागत संस्कार विकास गर्न नसकिएको र सरकारी संस्थानलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्रका रूपमा प्रयोग गरिएका कारण धेरै संस्था कमजोर बन्न भएका उहाँको भनाइ थियो । अहिले संस्थाहरू चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उहाँले ती अवस्थाबाट माथि उठ्न सुधारको स्पष्ट मार्गचित्रसहित सरकारले काम गरिरहेको बताउनुभयो । “अब सुधार कसरी गर्ने भन्ने सवालमा सरकार जिम्मेवार र जवाफदेही बन्छ,” मन्त्री तिमिल्सिनाले भन्नुभयो, “यसमा सबै क्षेत्रको साथ आवश्यक छ । संस्थाहरू पनि नयाँ बल, नयाँ सोच र नयाँ कार्यशैलीका साथ अघि बढेको देख्न पाइयोस् भन्ने अपेक्षा छ ।” गोरखापत्र संस्थानलाई अझ ओजपूर्ण, व्यावसायिक र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमलाई उपलब्ध गराइँदै आएको लोककल्याणकारी विज्ञापन नरोकिएको स्पष्ट पार्नुभयो । कार्यक्रममा ‘मधुपर्क सम्मान–२०८३’ अन्तर्गत पद्यतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ वरिष्ठ कथाकार भाउपन्थी तथा ‘मधुपर्क प्रतिभा सम्मान’बाट डा गीता त्रिपाठीलाई सम्मान गरिएको थियो । उहाँहरूलाई सम्मानपत्रसहित रु ५० हजार नगद प्रदान गरिएको गोरखापत्र संस्थानले जनाएको छ । मधुपर्कका पूर्वसम्पादक कपिल घिमिरेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । सम्मानित वरिष्ठ साहित्यकार यादव खरेलले सूचना प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै साहित्यिक सिर्जना तथा पठन संस्कृतिमा ह्रास आउन थालेको चिन्ता व्यक्त गर्नुभयो । नयाँ प्रविधिको उपयोग आवश्यक भए पनि पठन संस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । वरिष्ठ कथाकार भाउपन्थीले साहित्य सिर्जना, प्रकाशन र प्रवद्र्धनका लागि राज्यका तर्फबाट पनि लगानी आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय साहित्यिक पत्रिकाहरूको प्रकाशन क्रमशः बन्द हुँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै उहाँले सिर्जनशीलताका आयामहरू फरक–फरक ढङ्गले विकास भइरहेकाले तिनलाई समयानुकूल संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । –––
Powered By Orson Infotech









प्रतिक्रिया