जीवनशैली

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम



तेह्रथुम, ३० जेठ

म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पाँचदिने उद्यमशीलता तालिम प्रदान गरेको छ । यही जेठ २६ देखि ३० गतेसम्म सञ्चालन भएको तालिममा नगरपालिकाभित्रका २५ जना वैदेशिक रोजगारीबाट फर्किएका युवाको सहभागिता रहेको म्याङलुङ नगरपालिकाका रोजगार संयोजक अनिल नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा उद्यम सञ्चालन गर्ने तरिका, लगानी व्यवस्थापन, वित्तीय साक्षरता तथा बैङ्किङ ऋणसम्बन्धी जानकारीका साथै मनोसामाजिक परामर्शसमेत प्रदान गरिएको थियो । वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न सकून् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताउनुभयो । म्याङलुङ नगरपालिका रोजगार, सीप तथा उद्यमशीलता केन्द्र तेह्रथुमले आयोजना गरेको तालिममा म्याङलुङ नगरपालिकाका सामाजिक विकास अधिकृत जगदीश सुवेदी, मनोसामाजिक परामर्शदाता पुनम भण्डारी, उद्यम विकास सहजकर्ता विनोद भण्डारी तथा नबिल बैङ्क लिमिटेड म्याङलुङ शाखाका शाखा प्रबन्धक भरत भारतीले सहजीकरण गर्नुभएको थियो । तालिममा सहभागी म्याङलुङ–९ का सन्तोष लिम्बूले वैदेशिक रोजगारीबाट फर्किएपछि आफूले सिकेको सीपलाई उद्यममा रूपान्तरण गर्ने विषयमा उपयोगी जानकारी प्राप्त भएको बताउनुभयो । ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताका रूपमा कार्यरत लिम्बूले तालिमले आफ्नो पेसालाई व्यावसायिक रूपमा विस्तार गर्न सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो । यस्तै, म्याङलुङ–१ का बखत दाहालले १८ वर्ष वैदेशिक रोजगारीमा बिताएपछि स्वदेश फर्किएको उल्लेख गर्दै तालिमबाट रोजगार सिर्जना, लगानी व्यवस्थापन, बैङ्किङ प्रक्रिया तथा मनोसामाजिक पक्षबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले तालिमले आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्न प्रेरणा मिलेको सुनाउनुभयो । नगरपालिकाले रोजगारमूलक सीप विकासका लागि अहिले ब्युटिसियन, बारिस्टा, हाते ट््याक्टर मर्मत, ड्राइभिङ र कुकसम्बन्धी तालिमसमेत सञ्चालन गरिरहेको रोजगार संयोजक नेपालले जानकारी दिनुभयो । —

प्रकाशित : ३० जेष्ठ २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६