कृषि

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित



कञ्चनपुर, ३० जेठ

रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्ना जलेको जस्तो देखिने, पहेँलो हुँदै सुक्ने तथा नष्ट हुने समस्या बढ्दै गएको हो । स्थानीय पिपलाँडीका किसान जोखुराम चौधरीले रोगका कारण धानको बेर्नामा क्षति भएपछि रोपाइँ गर्न नपाइने हो कि भन्ने चिन्ता बढेको बताउनुभयो । “बेर्ना जलेको जस्तो देखिने र विस्तारै सुक्दै जाने समस्या देखियो”, उहाँले भन्नुभयो, “पहिलोपटक तयार गरेको बेर्ना अधिकांश नष्ट भएपछि पुनः बीउ छर्नुपरेको छ । रोपाइँ सुरु हुने बेला फेरि बेर्ना तयार गर्नुपर्ने अवस्था आएको छ ।” उहाँका अनुसार समयमा रोग पहिचान गरी नियन्त्रण गर्न नसकिए रोपाइँ प्रभावित हुनुका साथै उत्पादनमा असर पर्ने देखिन्छ । नगरपालिकाका कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले पछिल्ला दिनमा बेर्नामा रोग लागेको गुनासो लिएर आउने किसानको सङ्ख्या बढ्दै गएको बताउनुभयो । धानको बेर्नामा ढुसीजन्य रोग देखिएकाले किसानलाई सतर्क रहन र आवश्यक प्राविधिक परामर्शका लागि कृषि विकास शाखामा सम्पर्क गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । “नगरको प्रमुख खाद्यान्न बाली धान हो”, बुढाऐरले भन्नुभयो, “बेर्नामा समस्या देखिएकाले त्यसलाई नियन्त्रण नगरी रोपाइँ गर्दा उत्पादनमा ठूलो असर पर्न सक्छ, त्यसैले किसानलाई सचेत गराउने र रोग व्यवस्थापनका उपायबारे जानकारी दिने काम गरिरहेका छौँ ।” रोग नियन्त्रणका लागि ‘कार्बेन्डाजिम’ र ‘म्यान्कोजेब’ विषादी दुई दशमलव पाँच ग्रामका दरले प्रतिलिटर पानीका मिसाएर बेर्ना राम्रोसँग भिज्ने गरी छर्कन उहाँले सुझाव दिनुभयो । सात-सात दिनको अन्तरालमा उक्त विषादी प्रयोग गर्न सकिने उहाँको भनाइ छ । रोग फैलिन नदिन नियमित अनुगमन, प्राविधिक परामर्श तथा आवश्यक व्यवस्थापनका उपाय अपनाउन कृषि विकास शाखाका प्रमुख बुढाऐरले किसानलाई आग्रह गर्नुभयो । समयमा रोगको पहिचान गरी उपचार गर्न सके बेर्नालाई थप क्षति हुनबाट जोगाउन सकिने उहाँले बताउनुभयो । धानखेतीको मुख्य याम सुरु भइसकेका बेला बेर्नामा ढुसीजन्य सङ्क्रमण देखिएपछि किसान उत्पादन घट्ने चिन्तामा परेका छन् ।

प्रकाशित : ३० जेष्ठ २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६