खोज–अनुसन्धान

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना



कैलाली, ३१ जेठ

धनगढी उपमहानगरपालिका-१४ फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानी गरी घरमा दुनाटपरी उद्योग सञ्चानल गर्दै आउनुभएको छ । विगत सात वर्षदेखि रु आठ लाखको लगानीमा उहाँले सानीडाँडा फूलबारी दुनाटपरी उद्योगबाट दुनाटपरी व्यवसाय गर्दै आउनुभएको छ । सुरुमा सामूहिक लगानीमा सञ्चालित सो उद्योगबाट व्यवसाय गर्दै आउनुभएकी मगरले व्यवसाय फस्टाउँदै गएपछि व्यक्तिगत लगानीमा व्यवसाय विस्तार गर्नुभयो । उहाँले भन्नुभयो, “अनुदानसहित रु एक लाख ५० हजार लगानीमा गाउँका २० जना महिलासँगको साझेदारीमा दुनाटपरी उद्योग सञ्चालन गरेका थियौँ । पछि काम सिक्दै गए र आम्दानी मनग्य हुन थालेपछि एक्लैले व्यवसाय गर्दै आएको हुँ ।” राहदानी बनाएर विदेश जान तयार हुनुभएकी उद्यमी मगरले आर्थिक स्थितिका कारण वैदेशिक रोजगारको मोह त्याग्नुभएको थियो । आफू स्वरोजगार हुनुका साथै उहाँले सोही ठाउँका पाँच जना स्थानीय महिलालाई रोजगार पनि दिनुभयो । दुनाटपरी उद्योगबाट मासिक रु दुई लाख ७० हजार बराबरको कारोबार हुने गरेको उहाँले बताउनुभयो । दुनाटपरीका लागि चाहिने कच्चापदार्थ, कामदारको तलब, जीविकोपार्जनलगायत परिवारको सम्पूर्ण खर्च कटाएर मासिक रूपमा रु ३५ हजार बचत हुने गरेको मगरले जानकारी दिनुभयो । “परिवारमा आफूसहित श्रीमान्, एक छोरी र एक छोरा छौँ । छोराछोरीको शिक्षादिक्षाको खर्च यही व्यवसायीले धान्दै आएको छ”, उहाँले भन्नुभयो । उद्यमी मगरले भन्नुभयो, “सुरुमा आर्थिक स्थिति एकदम कमजोर थियो, खानलाउनसमेत धौधौ पर्दथ्यो । अहिले श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्छ । आफूले दुनाटपरी व्यवसाय समाल्दै आएको छु । आर्थिक स्थिति सुध्रिएको छ । छोराछोरीलाई राम्रो स्कुलमा पढाएको छु ।” दुनाटपरी उद्योग सञ्चालनका साथै स्थानीय महिलालाई उहाँले दुनाटपरीको तालिम दिने गर्नुभएको छ । वडाबाट आएको कार्यक्रममार्फत स्थानीय महिलालाई तालिम दिएको उहाँले अनुभव सुनाउँनुभयो । धनगढी, अछाम, बर्दिया, हसुलियालगायत विभिन्न स्थानका ६० जनाभन्दा बढी महिलालाई आफूले दुनाटपरीसम्बन्धी तालिम दिएको उहाँले जानकारी दिनुभयो । मगरका अनुसार उद्योगबाट दिनमा तीन हजार दुना र तीन हजार टपरी उत्पादन हुँदै आएको छ । टपरी रु चार र दुना रु एकमा बिक्री हुने जनाउँदै उहाँले दुनाटपरी धनगढी, महेन्द्रनगर, झलारी, हसुलिया साथै पोखरामा समेत पठाउने गरेको बताउनुभयो । सबैभन्दा बढी कारोबार पोखराका व्यवसायीसँग हुने गरेको उहाँको भनाइ छ । मगरले सुदूरपश्चिम प्रदेशबाट आफू उत्कृष्ट महिला उद्यमीका रूपमा छनोट भई गत वर्ष सम्मानित भएको स्मरण गर्नुभयो । उद्योगका लागि स्थानीय तथा प्रदेश सरकारबाट अनुदान प्राप्त भएमा व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । —

प्रकाशित : ३१ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६