अर्थ-वाणिज्य

दिगो वन व्यवस्थापनमा मनकामना सामुदायिक वनको जोड, संरक्षणसँगै समुदाय विकासमा अग्रसर



कपिलवस्तु, बाणगंगा २ असार

वन हरियालीको स्रोत मात्र होइन, वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण र स्थानीय समुदायको समृद्धिसँग प्रत्यक्ष जोडिएको अमूल्य प्राकृतिक सम्पत्ति भएको सन्देश दिँदै श्री मनकामना सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण र सामुदायिक विकासलाई सँगसँगै अघि बढाएको जनाएको छ।
वनको दिगो व्यवस्थापन, वन संरक्षण तथा समुदाय विकासका विभिन्न कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको छ। समूहका अध्यक्ष मुक्त बहादुर कार्कीका अनुसार वन संवद्र्धन प्रणाली अन्तर्गत वृक्षारोपण, गोडमेल, संरक्षण तथा व्यवस्थापनका कार्यहरू सम्पन्न गरिएका छन् भने वन जन्य तथा गैरवनजन्य उत्पादनको उपयोग र वितरणमा पारदर्शिता कायम गरिएको छ।
अध्यक्ष कार्कीले वन आगलागी नियन्त्रण, वातावरण संरक्षण तथा जैविक विविधता जोगाउने अभियानमा उपभोक्ताहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको बताए। उनका अनुसार सामुदायिक वनले वन संरक्षणमा मात्र सीमित नभई विद्यालय सहयोग, बाटो मर्मत, तालिम तथा जनचेतनामूलक कार्यक्रम मार्फत स्थानीय विकासमा समेत योगदान पु¥याएको छ।


प्रतिवेदनमा वन मानव जीवनको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै वनले अक्सिजन उत्पादन, कार्बन अवशोषण, माटो संरक्षण, जलवायु सन्तुलन तथा पानीका स्रोत संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने तथ्य प्रस्तुत गरिएको छ। वनका कारण बाढी, पहिरो तथा भूक्षय नियन्त्रणमा सहयोग पुग्ने तथा वातावरणीय जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान हुने उल्लेख गरिएको छ।


वन संरक्षणसँग धार्मिक, सामाजिक र सांस्कृतिक पक्ष पनि जोडिएको भन्दै प्रतिवेदनमा धेरै धार्मिक स्थल तथा देवस्थल वन क्षेत्रभित्र वा वन आसपास अवस्थित रहेको जनाइएको छ। वन संरक्षणले समुदायमा सहकार्य, श्रमदान र सामाजिक एकताको भावना बलियो बनाउने विश्वास समूहको छ।
यद्यपि वन क्षेत्रले केही चुनौतीहरू पनि सामना गरिरहेको अध्यक्ष कार्कीले बताए। वन अतिक्रमण, अनियन्त्रित चरिचरन, नयाँ पुस्तामा संरक्षणप्रतिको घट्दो रुचि तथा जलवायु परिवर्तनका असरका कारण वन उत्पादनमा कमी आउनु प्रमुख चुनौतीका रूपमा देखिएका छन्। यी समस्याको समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ।
आगामी वर्षका लागि समूहले वन संरक्षणमा आधुनिक तथा प्राविधिक उपायहरूको प्रयोग, उपभोक्ताका लागि आयआर्जन तथा रोजगारीमूलक कार्यक्रम सञ्चालन, हरियाली अभियान विस्तार, दिगो पर्यटन प्रवद्र्धन तथा महिला, दलित र युवाको सहभागिता थप सशक्त बनाउने लक्ष्य तय गरेको छ।
सामुदायिक वन अभियानले संरक्षण र विकासलाई एकसाथ जोड्न सकिने उदाहरण प्रस्तुत गरिरहेको विश्लेषकहरू बताउँछन्। वन जोगाउने मात्र नभइ, वनबाट प्राप्त लाभलाई समुदायको जीवनस्तर सुधारमा उपयोग गर्ने अभ्यासले सामुदायिक वनको महत्व अझ बढाएको देखिन्छ।
वन संरक्षण सरकार वा कुनै एक निकायको जिम्मेवारी मात्र नभई सम्पूर्ण समुदायको साझा दायित्व भएको सन्देश मनकामना सामुदायिक वन उपभोक्ता समूहले दिएको छ। हरियाली जोगाउने, प्राकृतिक स्रोत संरक्षण गर्ने र भावी पुस्ताका लागि सुरक्षित वातावरण निर्माण गर्ने अभियानमा सबैको सहभागिता आवश्यक रहेको अध्यक्ष मुक्त बहादुर कार्कीको भनाई रहेको छ।

प्रकाशित : २ असार २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६