प्रेसपाटी डेक्स
कपिलवस्तु, बाणगङ्गा ३ असार
बाणगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमले “ब्राण्ड बाणगङ्गा, बिलिभ बाणगङ्गा” अभियानलाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानी, रोजगार, पर्यटन, सहकारी तथा सुशासनका क्षेत्रमा महत्वाकांक्षी योजना अघि सारेको छ।
करिब १ अर्ब ९० करोड रुपैयाँको स्रोत परिचालन गर्ने लक्ष्य सहित ल्याइएको नीति तथा कार्यक्रमले नगरलाई आधुनिक, आत्मनिर्भर र नागरिक मैत्री बनाउने स्पष्ट दिशा प्रस्तुत गरेको प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताउनु भयो ।
स्वास्थ्यतर्फ पिपरा अस्पताललाई २५ शैयामा स्तरोन्नति, निःशुल्क एम्बुलेन्स सेवा, पाठेघर क्यान्सर स्क्रिनिङ, आयुर्वेद सेवा विस्तार तथा ज्येष्ठ नागरिक र बालबालिका लक्षित कार्यक्रमले स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन हुने अपेक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेललको भनाई रहेको छ।
शिक्षा क्षेत्रमा स्मार्ट विद्यालय, डिजिटल कक्षा, कृत्रिम बुद्धिमत्ता आधारित शिक्षण, ई–हाजिरी, सीसी क्यामेरा, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान जस्ता कार्यक्रमले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
कृषि तथा पशुपालन क्षेत्रमा “एक वडा एक उत्पादन”, कृषि यान्त्रिकीकरण, कृषि उपज सङ्कलन केन्द्र, एनिमल रिसर्च सेन्टर, प्राङ्गारिक मल प्रवर्धन, उत्पादनमा आधारित अनुदान तथा व्यवसायिक कृषिमा जोड दिइएको छ। यसले कृषिलाई निर्वाहमुखीबाट व्यावसायिक तर्फ लैजाने आधार तयार गर्ने कृषि शाखा प्रमुख लेस बहादुर केसीको भनाई छ ।
पूर्वाधारतर्फ फराकिला सडक, ग्रामीण सडक स्तरोन्नति, ढल निकास, घर नम्बरिङ, डिजिटल अभिलेखीकरण, खानेपानी आयोजना तथा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले नगरको दीर्घकालीन विकासलाई बल पु¥याउने अपेक्षा गरिएको छ।
त्यस्तै महिला, दलित, आदिवासी, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदाय लक्षित कार्यक्रमले सामाजिक न्याय र समावेशी विकासलाई थप सुदृढ बनाउने विश्वास गरिएको नगर उपप्रमुख रिता कुमारी चौधरीको तर्क रहेको छ।
खेलकुद, पर्यटन, सहकारी तथा उद्यमशीलता क्षेत्रमा प्रस्तावित कार्यक्रमहरूले युवालाई रोजगार र स्वरोजगारसँग जोड्ने अवसर सिर्जना गर्ने देखिन्छ।
यद्यपि नीति तथा कार्यक्रमले देखाएका लक्ष्यहरू कार्यान्वयनको चरणमा कति प्रभावकारी रूपमा पुग्छन् भन्ने विषय महत्वपूर्ण रहनेछ। पर्याप्त स्रोत व्यवस्थापन, पारदर्शिता, जनसहभागिता र प्रभावकारी अनुगमन हुन सके बाणगङ्गाले आगामी वर्षहरूमा विकासको नयाँ उचाइ हासिल गर्न सक्ने आधार यो नीति तथा कार्यक्रमले तयार गरेको छ।
समग्रमा हेर्दा, आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बाणगङ्गालाई समृद्ध, व्यवस्थित, प्रविधिमैत्री र आत्मनिर्भर नगर बनाउने दीर्घकालीन मार्गचित्रका रूपमा प्रस्तुत भएको नगर प्रमुख चक्रपाणी अर्यालको भनाइ रहेको छ ।









प्रतिक्रिया