अर्थ-वाणिज्य

विपन्न समुदायको आर्थिक रूपान्तरणको ३० वर्षे यात्रा



प्रेसपाटी डेक्स

कपिलवस्तु, बाणगंगा ४ असार

कुनै समय कपिलवस्तुको बाणगंगा नगरपालिका–६, भगलापुर क्षेत्रमा आर्थिक गतिविधि न्यून थियो। विपन्न तथा श्रमजीवी परिवारहरू बचत संस्कृतिबाट टाढा थिए भने साना उद्यम र आत्मनिर्भर आर्थिक गतिविधिका अवसर पनि सीमित थिए। त्यही परिस्थितिलाई परिवर्तन गर्ने सपना बोकेर केही जागरुक युवाहरूले २०५३ सालमा स्थापना गरेको माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड आज समुदायको आर्थिक, सामाजिक र संस्थागत रूपान्तरणको सफल नमुनाका रूपमा स्थापित भएको छ।
स्थापनाकालमा समुदायमा बचत, सहकार्य र आत्मनिर्भर अर्थतन्त्रको अवधारणालाई स्थापित गर्ने उद्देश्यले अघि बढेको सहकारीले तीन दशकको यात्रामा हजारौं नागरिकको विश्वास जित्न सफल भएको छ। सहकारीको स्थापना र विकासमा माउण्ट एभरेष्ट सामाजिक विकास संस्थाको विशेष भूमिका रह्यो। सामाजिक परिवर्तन, आर्थिक सशक्तीकरण र समुदायको उत्थानलाई केन्द्रमा राखेर स्थापना गरिएको यो सहकारी त्यसबेलाको युवाशक्तिको दूरदर्शी सोचको परिणाम थियो।
सहकारीको स्थापनामा देवी पोख्रेल, खेमराज भट्टराई, दीपक खनाल, विष्णु प्रसाद बेल्बासे, लेखनाथ भट्टराई लगायतको महत्वपूर्ण योगदान रहेको थियो। त्यसपछि संस्थालाई विस्तार र सुदृढीकरण गर्ने क्रममा लक्ष्मण प्रसाद बेल्बासे, सरोज खनाल, ठाकुर पोख्रेल, युवराज पोख्रेल, कमला भट्टराई, रिता चौधरी, प्रकाश भुसाल तथा व्यवस्थापक रविलाल भट्टराई लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरे। यस अभियानमा स्थानीय गाउँलेहरूको निरन्तर साथ, सहयोग र अपनत्वले संस्थालाई थप मजबुत बनाएको देखिन्छ।

सदस्यको हित र समुदायको समृद्धि मूल मन्त्र

संस्थाका अध्यक्ष प्रकाश भुसालले सहकारीको मूल लक्ष्य वित्तीय कारोबारमा सीमित नरही सदस्यको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन रहेको धारणा राख्नु भयो । अध्यक्ष भुसालका अनुसार सहकारीले स्थानीय पूँजी, प्रविधि र श्रमलाई एकीकृत गर्दै उत्पादन, उद्यमशीलता र स्वरोजगारका अवसर सिर्जना गर्ने अभियानलाई निरन्तरता दिएको छ।
सहकारीले समुदायमा बचत संस्कृतिको विकास, सुलभ वित्तीय पहुँच, उद्यम प्रवद्र्धन तथा आर्थिक आत्मनिर्भरताको आधार निर्माणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ। सदस्य केन्द्रित सेवा, पारदर्शी व्यवस्थापन र लोकतान्त्रिक अभ्यासका कारण संस्थाले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको धारणा राख्नु भयो ।
चुनौतीबीच अवसरको खोजी
वर्तमान आर्थिक मन्दी, बजारमा आएको सुस्तता, घट्दो लगानी वातावरण तथा आम नागरिकको क्रयशक्तिमा आएको ह्रासले सहकारी क्षेत्र पनि प्रभावित बनेको सहकारीका निवर्तमान अध्यक्ष युवराज पोख्रेलको भनाइ छ । निवर्तमान अध्यक्ष पोख्रेलले सहकारी वित्तीय बजारमा देखिएको असन्तुलन, बचत क्षमतामा आएको कमी तथा उत्पादनशील क्षेत्रको सुस्तताप्रति चिन्ता व्यक्त गर्दै यस्ता चुनौतीलाई अवसरमा बदल्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
उहाँका अनुसार सहकारीले बदलिँदो समयको आवश्यकता अनुसार सदस्यमैत्री वित्तीय सेवा विस्तार, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र उत्पादनमुखी लगानीलाई प्राथमिकता दिँदै अगाडि बढ्ने नीति लिएको बताउनु भयो ।
पुरानो भवनदेखि आधुनिक कार्यालयसम्म

माउण्ट एभरेष्ट सामाजिक विकास संस्थाको कार्यालयबाट शुभारम्भ सहकारीले यसै भवनबाट आफ्नो कामको थालनी गरेको थियो ।


माउण्ट एभरेष्ट सहकारीको यात्रा आफैँमा प्रेरणादायी छ। सानो गाउँको सीमित स्रोतबाट सुरु भएको संस्था आज आफ्नै सुविधासम्पन्न कार्यालय भवनबाट सेवा प्रवाह गरिरहेको छ। पुरानो भवनले संस्थाको संघर्ष, समर्पण र प्रारम्भिक यात्राको इतिहास बोकेको छ भने नयाँ भवनले संस्थाको विकास, स्थायित्व र भविष्यप्रतिको विश्वास झल्काउँछ।
ती भवनहरू भौतिक संरचना मात्र होइनन्, समुदायले गरेको सामूहिक प्रयास, सहकार्य र विश्वासका प्रतीक हुन्। यसले सहकारी आन्दोलनले स्थानीय स्तरमा कसरी परिवर्तन ल्याउन सक्छ भन्ने सशक्त उदाहरण प्रस्तुत गरेको छ।
सहकारी अभियानलाई बलियो बनाउने प्रतिबद्धता

संस्थाले आगामी दिनमा सदस्यको आवश्यकताअनुसार नवीन वित्तीय सेवा विस्तार, उत्पादनमूलक लगानी प्रवद्र्धन, युवालाई उद्यमशीलतामा जोड्ने कार्यक्रम तथा विपन्न वर्गको आर्थिक सशक्तीकरणलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।


सहकारीको ३० वर्षे यात्राले एउटा महत्वपूर्ण सन्देश दिएको छ—जब समुदायका युवाहरू सकारात्मक सोच, सामूहिकता र सामाजिक उत्तरदायित्वका साथ अघि बढ्छन्, तब परिवर्तन सम्भव मात्र होइन, दिगो पनि हुन्छ।
सहकारी बचत र ऋणको माध्यम मात्र होइन, यो सामाजिक एकता, आर्थिक आत्मनिर्भरता र सामूहिक समृद्धिको अभियान भएको बताउनु हुन्छ ब्यवस्थापक रविलाल भट्टराई । माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको यात्रा बताउँछ कि सानो गाउँबाट सुरु भएको सकारात्मक सोचले समयसँगै ठूलो परिवर्तनको आधार तयार गर्न सक्छ। सहकारीको मूल भावना “एकका लागि सबै, सबैका लागि एक” लाई व्यवहारमा उतार्दै अघि बढ्नु नै समृद्ध समुदाय निर्माणको भरपर्दो बाटो हो।

प्रकाशित : ४ असार २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६